विजयपुर। इरान–इजराइल–अमेरिका बीचको तनावका कारण निर्माण क्षेत्र प्रभावित बनेको छ।
सोमबार निर्माण व्यवसायीहरूले धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदै आफूहरू चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन्। ध्यानाकर्षण पत्रमा “निर्माण व्यवसाय क्षेत्र अत्यन्त जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको” उल्लेख गरिएको छ। निर्माण कार्य सञ्चालनमा लागत वृद्धि, सामग्री अभाव, भुक्तानी ढिलाइ तथा नीतिगत समस्याले व्यवसायीहरू गम्भीर संकटमा परेको जनाइएको छ।
निर्माण व्यवसायी सङ्घ धरानका अध्यक्ष महेन्द्र प्रधानका अनुसार धरानमा मुख्य समस्या रनिङ बिलको भुक्तानी हो। उनले भने, “अन्य पालिकामा रनिङ बिलको भुक्तानी ६ दिनमै हुन्छ, तर धरानमा डेढ महिनासम्म लाग्छ।” लेखा, योजना, प्रशासन र जनप्रतिनिधिबीच समन्वय अभाव हुँदा व्यवसायीहरूले सास्ती भोग्नु परेको उनको भनाइ छ। त्यस्तै, ‘घ’ वर्गको लाइसेन्स नवीकरण शुल्कमा असमानता भएको व्यवसायीहरूले गुनासो गरेका छन्। अध्यक्ष प्रधानका अनुसार अरबौँको ठेक्का गर्ने ‘क’ वर्गको लाइसेन्स नवीकरण शुल्क करिब ७ हजार रुपैयाँ मात्र लाग्ने तर ‘घ’ वर्गका लागि १० हजार रुपैयाँ लिइनु अन्यायपूर्ण भएको बताए। गत आर्थिक वर्षसम्म ५ हजार रहेको शुल्क चालु वर्षमा दोब्बर बढाइएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण निर्माण लागत बढेको व्यवसायीहरूको भनाइ छ। सिमेन्ट, रडलगायत सामग्रीको मूल्य ३०–४० प्रतिशतसम्म वृद्धि भएको छ। साथै, गिट्टी, बालुवा, ढुंगा जस्ता नदीजन्य तथा खानीजन्य सामग्रीहरू नीतिगत जटिलता र आपूर्ति व्यवस्थापन कमजोरीका कारण अभाव भएको जनाइएको छ।
कालोपत्रे कार्यमा प्रयोग हुने बिटुमिनको मूल्य १०० प्रतिशतभन्दा बढी वृद्धि हुँदा निर्माण कार्य थप प्रभावित बनेको छ। महँगो मूल्यमा पनि बिटुमिन सहज रूपमा उपलब्ध नभएको गुनासो गरिएको छ। सरकारी निकायबाट सम्पन्न कार्यको भुक्तानी प्रक्रियामा ढिलासुस्ती, अनावश्यक कागजी प्रक्रिया र झन्झटले समस्या थपिएको व्यवसायीहरूको भनाइ छ। उनीहरूले मूल्यवृद्धि समायोजन गरी वास्तविक लागतअनुसार भुक्तानीको व्यवस्था गर्न माग गरेका छन्।
व्यवसायीहरूले यस्तो अवस्था रहिरहे योजनाहरू अधुरा रहने, विकास निर्माण ठप्प हुने र समग्र विकास प्रक्रियामा नकारात्मक असर पर्ने चेतावनी दिएका छन्। धरानका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले व्यवसायीका समस्याप्रति नगरपालिका संवेदनशील रहेको बताए। उनले सुरु भएका आयोजनाको भुक्तानी प्रक्रिया अघि बढाइने र निर्माण कार्य निरन्तरता दिने उल्लेख गरे। उनका अनुसार कतिपय टेन्डरमा ठेक्का नपर्ने समस्या पनि देखिएको छ। “ठेकेदारहरूले काम गर्न सक्दैनौँ भन्छन्, हामीले गर्नुपर्छ भन्छौँ। ठेक्का लागेको छैन, लगाउने कि नलगाउने भन्ने अवस्था छ,” उनले भने। उनले थपे, “सम्झौताअनुसार काम हुनुपर्छ। जनताबाट काम नभएको दबाब छ। राम्रो कामलाई निरन्तरता दिइनेछ। कसको योजना भन्ने आधारमा रोकिँदैन, तर काम सही हुनुपर्छ।”