विजयपुर । नेपाली सेनाले विपद् प्रतिकार्य पूर्वतयारीका लागि मात्रै सुकुम्बासीको लगत संकलन गरेको दाबी गरेको छ ।
बुधबार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सुकुम्बासीको विवरण माग गरिएको विषयमा स्पष्टीकरण दिँदै सेनाले विपद् प्रतिकार्यको पूर्वतयारीका लागि मात्रै तथ्यांक संकलन गरिएको जनाएको हो ।
रक्षा मन्त्रालयअन्तर्गत जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले जारी गरेको प्रेस विज्ञप्तिमा विगतका वर्षहरूमा भएका विपद्का घटनालाई ध्यानमा राख्दै नजिकिँदै गरेको वर्षायाममा बाढी, पहिरो, डुबान तथा नदी कटानबाट हुन सक्ने जोखिमलाई मध्यनजर गरी पूर्वतयारी थालिएको उल्लेख छ ।
नेपाली सेनाका अनुसार स्थानीय युनिटहरूले आफ्नो जिम्मेवारी क्षेत्रमा सम्भावित विपद्का घटनामा सुरक्षा फौज परिचालन, उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कामलाई सहज बनाउन सम्भावित जोखिमको नक्सांकनका लागि तथ्यांक अद्यावधिक गरेका हुन् ।
सामाजिक सञ्जालमा सुकुम्बासीहरूको विवरण संकलनको विषयलाई लिएर आलोचना भइरहेको छ । नेपाली सेनाले उक्त विवरण सम्भावित जोखिम क्षेत्र पहिचान तथा विपद् व्यवस्थापन योजनाका लागि मात्रै संकलन गरिएको दाबी गरेको छ ।