विजयपुर । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले धरानमा प्रभातफेरी कार्यक्रम गरेको छ ।

आइतबार ‘शान्तिपूर्ण भविष्यको निर्माण ः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवद्र्धन’ भन्ने मूल नारासहित आयोजित प्रभातफेरी सम्पन्न भएको हो । प्रभातफेरीमा सुनसरी जिल्लाका क्रियाशील पत्रकार, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बरिष्ठ पत्रकार हर्ष सुब्बाले स्वतन्त्र पत्रकारितामा राज्य दमनको चुनौती खडा भएको बताए । उनले २५ वर्षयता सबैभन्दा बढी प्रेसमाथि दमन भएको बताए । निजी क्षेत्रका सञ्चार माध्यमलाई विज्ञापन बन्द गर्नु ‘आर्थिक नाकाबन्दी’ भएको बताउँदै भने, “सम्पूर्ण पत्रकार प्रभावित हुन्छन् । सरकार प्रेस स्वतन्त्रताको पक्षमा नभएमा फेसबुक, यूट्युब पनि बन्द हुन सक्ने बताए ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवद्र्धन र नागरिक अधिकारको संरक्षणका लागि स्वतन्त्र र जिम्मेवार प्रेसको भूमिका अपरिहार्य रहेको बताए । उनले पत्रकारमाथि हुने दबाब, धम्की तथा असुरक्षाको अवस्था अन्त्य गर्दै पत्रकारमैत्री वातावरण निर्माण गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।

प्रेस सेण्टरका सुनसरी अध्यक्ष तिर्थ कार्कीले पत्रकारहरु असुरक्षित भएको बताए । सरकार प्रेस स्वतन्त्रताको विरुद्धमा भएको बताउँदै भने, “पत्रकारले स्वतन्त्र रुपमा रिपोर्टिङ गर्न अवरोध भइरहेको छ ।”

धरानको छाताचोकबाट सुरु भएको प्रभातफेरी भानुचोकसम्म पुगेको थियो । सहभागीहरूले प्रेस स्वतन्त्रता, पत्रकारको भौतिक सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकको पूर्ण कार्यान्वयनको माग गरेका थिए । प्रभातफेरीमार्फत स्वतन्त्र प्रेस केवल सञ्चार क्षेत्रको मुद्दा मात्र नभई लोकतन्त्र, मानव अधिकार र विकाससँग प्रत्यक्ष जोडिएको विषय भएको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ । नागरिक समाजका प्रतिनिधिहरूले पनि प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाएका थिए ।

681453831_1520509213028596_6159842574102380665_n

686039666_26507934382160983_3308603879962871507_n