विजयपुर । सहरी विकास मन्त्रालयले काठमाडौँका बागमती तथा सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल सडकमा अलमल परिरहेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरेको हो । मन्त्रालयद्वारा जारी प्रेस नोटमा वास्तविक भूमिहीन नागरिकको डिजिटल लगत सङ्कलन गरी ‘होल्डिङ सेन्टर’मार्फत व्यवस्थित व्यवस्थापन गरिने उल्लेख छ । दर्ता भएका नागरिकलाई आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोसामाजिक परामर्श लगायत आधारभूत सुविधा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर नागरिकलाई दर्ता केन्द्रमा उपस्थित भई सरकारले उपलब्ध गराउने सेवा–सुविधा उपयोग गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । नागरिकको सुरक्षित, व्यवस्थित र दीर्घकालीन पुनःस्थापनामा सरकार प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ ।