विजयपुर । नेपाली कथानक चलचित्र ‘लालीबजार’ प्रदर्शन गर्ने बाटो खुलेको छ ।

बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र प्रदर्शनमा रोक लगाउँदै दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि ‘लालीबजार’ प्रदर्शनको बाटो खुलेको हो ।

अदालतको आदेशसँगै चलचित्र वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ । चलचित्र निर्माता म्याक्स दीपेश खत्रीले आफूहरूले कुनै पनि समुदाय वा वर्गको भावनामा ठेस पुग्ने गरी चलचित्र निर्माण नगरेको बताए । उनले भने, “हामीले आमा र छोरीको सम्बन्ध तथा छोरीका लागि आमाले गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेका छौं ।”

चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी र जानकी कडायतलगायत कलाकारको अभिनय रहेको छ ।