काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि आवेदन खुला गरिएको छ ।

उपकुलपति छनोट तथा सिफारिस समितिले आठ विश्वविद्यालयका लागि दरखास्त आह्वान गरेको हो । समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि आवेदन माग गरिएको हो ।

उपकुलपति छनोट तथा सिफारिससम्बन्धी ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको समितिले जनाएको छ ।

कार्यविधिअनुसार इच्छुक आवेदकले तोकिएको योग्यता तथा मापदण्ड पूरा गरेको हुनुपर्नेछ । साथै, बौद्धिक चोरी (प्लेजरिज्म) नगरेको र कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणासमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । रासस