विजयपुर । सुनसरीको धरान–१३ अमरहाटस्थित चार्जिङ स्टेशनमा विद्युतीय गाडी दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

शनिबार उदयपुरबाट तेह्रथुम जाँदै गरेको बागमती प्रदेश ०८–००१ ज ०३१० नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख अनिल माबोहाङले जानकारी दिए । उनका अनुसार चार्जिङ गरेर निस्कने क्रममा गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । जिरोपोइन्टका ट्राफिक प्रहरी घनेन्द्र जबेगुका अनुसार चालकले एक्कासी गाडीको गति बढेपछि दुर्घटना भएको बयान दिएका छन् । विद्युतीय सवारीसाधन सञ्चालनमा पर्याप्त अनुभव नहुँदा विद्युतीय गाडी दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । दुर्घटनामा घाइते भएकाहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाइते हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–४ का ३० वर्षीया इन्दिरा श्रेष्ठ, ३३ वर्षीय अनु श्रेष्ठ, ३२ वर्षीया बबिता श्रेष्ठ, ३१ वर्षीया सुजता कटुवा, ४० वर्षीया अञ्जु आचार्य, १५ वर्षीया आस्न्या आचार्य तथा सुनसरी इटहरी–१६ की ३१ वर्षीया सुलोचना भट्टराई रहेका छन् । प्रहरीका अनुसार इन्दिरा श्रेष्ठ र बबिता श्रेष्ठलाई वार्डमा सारिएको छ भने अन्यको आकस्मिक कक्षमै उपचार भइरहेको छ । दुई जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ। चालक उदयपुर त्रियुगा नगरपालिका–४ का २२ वर्षीय सागर परियारलाई घटनास्थलबाटै इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।