झापा । भारतबाट हरेक रात हात्तीको बथान नेपाल प्रवेश गर्न थालेपछि मेचीनगरको बाहुनडाँगी क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

मेचीनगर–१, ४ र ५ का बाहुनडाँगी क्षेत्रमा एक सातायता दैनिक ३० देखि ४० वटा हात्ती भारतीय जङ्गलबाट आउने गरेको स्थानीयले बताएका छन् । हात्तीले मकै, सुपारीलगायत पाकेको बालीमा क्षति पु¥याउने गरेको बताइएको छ । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले हात्ती रोक्न सर्वपक्षीय बैठक गरेर संयुक्त टोली परिचालन गरिएको बताए । उनले सुरक्षाकर्मी, वन रक्षक र रेपिड रेस्पोन्स टिम परिचालन गरिएको जानकारी दिए । साँझ ६ बजेपछि हात्ती हेर्ने बहानामा सीमा क्षेत्रमा जान सर्वसाधारणलाई रोक लगाइएको उनले बताए । प्रभावित क्षेत्रमा मौसमी तारबार लगाउने र ट्र्याक्टर परिचालन गर्ने निर्णय भएको पनि उनले बताए ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले १८ किलोमिटर लामो सौर्य तारबार मर्मत प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय र मेचीनगर नगरपालिकाको ३० लाख रुपैयाँ बजेटमा मर्मत गरिनेछ । स्थानीय गोपी रिजालले यसपटक हात्तीले मकैबाली सखाप पार्नुका साथै सुपारीका बोट भाँचिदिएको बताए । उनले केही महिनायता हात्तीको आक्रमणबाट तीन जना घाइते भएको र १५ वटा घरमा क्षति पुगेको जानकारी दिए । रासस