विजयपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षा मेला हुने भएको छ ।
मेला जेठ २ र ३ गते हुनेछ । कार्यक्रमको आयोजना कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र सिटिइभीटी कोशी प्रदेश कार्यालयले संयुक्त रूपमा गरेका हुन् । “सीप आजको आवश्यकता, भविष्यको सुनिश्चितता” भन्ने नारासहित मेला सञ्चालन गरिनेछ । परिषद्का वरिष्ठ प्राविधिक अधिकृत शिशिर सुब्बाले मेलाले विद्यार्थीलाई अध्ययन र करिअर छनोटमा सहयोग पुग्ने बताए । मेला विराटनगरस्थित आदर्श माध्यमिक विद्यालय परिसरमा हुनेछ । मेलामा कोशी प्रदेशका १४ जिल्लाका शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिको सहभागिता रहने जनाइएको छ । विद्यार्थीले प्राविधिक तथा व्यावसायिक शिक्षाबारे प्रत्यक्ष जानकारी पाउनेछन् । मेलाले विद्यार्थीलाई रुचि र क्षमता अनुसार विषय छनोट गर्न सहज हुने विश्वास गरिएको छ । मेलामा स्वास्थ्य, इन्जिनियरिङ, कृषि, सूचना प्रविधि र हस्पिटालिटी क्षेत्रका सीप प्रदर्शन गरिनेछ । प्रयोगात्मक कार्य, परियोजना र नयाँ प्रविधि पनि अवलोकन गर्न सकिनेछ । मेलामा ४० वटा शैक्षिक स्टल रहनेछन् । विभिन्न शिक्षण संस्था र तालिम प्रदायक निकायले आफ्ना कार्यक्रमबारे जानकारी दिनेछन् । करिअर काउन्सेलिङ तथा मार्गदर्शन कार्यक्रम पनि सञ्चालन हुनेछ । विशेषज्ञले अध्ययन, रोजगारी र स्वदेश–विदेशका अवसरबारे परामर्श दिनेछन् । आयोजकका अनुसार विद्यार्थीलाई आत्मनिर्भर बनाउन मेला उपयोगी हुने अपेक्षा गरिएको छ । मेलामा सामाजिक विकास मन्त्री रामप्रसाद महतोसहित विभिन्न व्यक्तित्वको सहभागिता रहनेछ ।