विजयपुर । धरान १२ छाताचोकस्थित म्याद गुज्रिएको औषधि बिक्री गर्ने बालाजी मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् ।

बिहीबार इलाका प्रहरी कार्यालय डीएसपी भीषणबाबू राईका अनुसार मेडिकल हलका धरान १ पृथ्वी पथका ५० वर्षीय बिरेन्द्र पण्डित र धरान ९ गौतम पथका ४० वर्षीय सन्तोष कुमार अग्रवाललाई पक्राउ गरिएको हो । मेडिकलका ग्राहक उदयपुर बेलका ३ रामपुरका ६८ वर्षीय पर्चु कुमार राईको उजुरीको आधारमा पक्राउ गरिएको हो । उनले बालाजी मेडिकलबाट मुटुको औषधि खरिद गर्दा ३ पत्ता म्याद सकिएको औषधि किनेको भनी प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा औषधी र बिलसहित उनले उजुरी गरेका थिए । डीएसपी राईले पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानको लागि औषधि व्यवस्था विभाग विराटनगर पठाएको जानकारी दिए ।