खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापास्थित दमकका प्रकाशचन्द्र नेपालले जितेका छन् ।


नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जितेका हुन् ।


दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सिक्किमकै थेण्डुप तामाङ तेस्रो भएको निर्णायक मण्डलले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः नगद २५ हजार, १५ हजार र दश हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।


देशभरका खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा ताप्लेजुङका ङिमा शेर्पा चौथो र झापाका सुशान्त दाहाल पाँचौँ भए । चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः नगद आठ हजार र सात हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।


प्रतियोगितामा दोलखाका कविन्द्र सिवाकोटी छैटौँ, दिक्तेलका रिदिप केसी सातौँ, विराटनगरका उमेश राई आठौँ, हलेसीका मेजर राई नवौँ र बुइपाका धीरेन राई दशौँ भएका छन् । चौथोदेखि दशौँसम्मका सबै खेलाडीलाई जनही नगद रु पाँच हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानका सचिव मिलन कसजूले जानकारी दिए ।


एक दिवसीय प्रतियोगितामा खोटाङको बराहपोखरी गाउँपालिका निवासी खिलराज राई कोशी प्रदेश प्रथम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिभक्त राई दोस्रो घोषित भए ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका बमबहादुर राई खोटाङ प्रथम, जालपाकै ज्ञानबहादुर श्रेष्ठ खोटाङ दोस्रो र नेर्पाका प्रभुराम राई खोटाङ तेस्रो भए । उनीहरूले जनही क्रमशः नगद रु चार हजार, रु तीन हजार र रु दुई हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


बुद्धिचाल सङ्घ खोटाङको संयोजनमा आयोजना गरिएको प्रतियोगितामा देशभरका ५१ खेलाडीले सहभागिता जनाएका थिए । विजेता खेलाडीहरूलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले नगदसहित पुरस्कार वितरण गरे ।


जेठ ३ गतेदेखि सुरु भएको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवको पहिलो दिन दौड प्रतियोगिता आयोजना गरिएको थियो । छुट्टाछुट्टै उमेर समूह विभाजन गरेर छ विधामा आयोजना गरिएको दौड प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका गरी ७ सय ५५ जना धावकले सहभागिता जनाएका थिए ।


छ दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत जेठ–९ गते ख्यातिप्राप्त साहित्यकारहरुबीच आ–आफ्नो सिर्जना सुनाउने र सुन्ने कार्यक्रम राखिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिने साहित्यिक महोत्सवमा कविता, गजल र मुक्तक सुनाउने र सुन्ने कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।


महोत्सव उद्घाटनको अवसरमा आयोजकले पत्रकार सविना अछामे परियारलाई रु ११ हजार १ सय ११ नगदसहित पुरस्कृत गरेको छ । कार्यक्रम समापनको अवसरमा जेठ ९ गते विभिन्न विधामा महत्वपूर्ण योगदान गर्ने पाँचजना व्यक्तिलाई नगदसहित सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।


महोत्सव सम्पन्न गर्न रु ३० लाख १३ हजार २ सय ३२ बजेट लाग्ने अनुमान गरिएको आयोजक नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिए । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिएको हो । रासस