धरान । सुनसरीको धरानबाट प्रकाशित दिब्य रोशनी साप्ताहिक पत्रिकाले ब्लाष्टकर्मी खिलानाथ विकसहित पाँच जनालाई सम्मान गरेको छ ।


शुक्रबार पत्रिकाको २२ औं वार्षिकोत्सवका अवसरमा पत्रिकाका सम्पादक÷प्रकाशक मनिता चाम्लिङका दिवंगत जेठा दाजु राजु राईको नाममा स्थापित “युवा पत्रकारिता सम्मान” बाट ब्लाष्ट टाइम्स दैनिकका विक सम्मानित भएका हुन् । उनलाई धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले सम्मानपत्र प्रदान गरे ।


पत्रिका २१ वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको अवसरमा धरानलाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका तीन जना पत्रकारलाई जनही ५ हजार ५ रुपैयाँसहित सम्मान गरेको हो । यस्तै, एक जना सामाजिक अभियन्तालाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको पत्रिकाका प्रबन्ध निर्देशक सागर सिन्जाली मगरले जानकारी दिए । सम्पादक चाम्लिङकै दिवंगत कान्छा दाजु बाजुन राईको नाममा स्थापित “सृजनशील युवा पत्रकारिता सम्मान” बाट पत्रकार रोहित कुलुङ राई सम्मानित भए । त्यस्तै, दिवंगत बुवा क्वीन गोरखा इञ्जिनियरिङ सर्जन्ट प्रभुराम राईको नाममा स्थापित “उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान” पुरुषतर्फ निमा पोङ्सवा र महिलातर्फ सन्जु राईलाई प्रदान गरिएको छ ।


यस्तै, “उत्कृष्ट सामाजिक अभियन्ता सम्मान” बाट पब्लिक हाई स्कुल धरानका प्रधानाध्यापक डा. इन्द्रमोहन झा सम्मानित भए । यस्तै स्वर्णिमहाङ लिम्बूलाई गत वर्षको सम्मान प्रदान गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि अइन्द्र विक्रम बेघाले अनलाइन र सामाजिक सञ्जालको प्रयोग बढे पनि छापा संस्करणको महत्व कायम रहेको बताए । वरिष्ठ पत्रकार हर्ष सुब्बाले फेक न्यूजको बढ्दो चुनौतीका बीच विश्वसनीय स्रोतका रूपमा छापा र आधिकारिक अनलाइन माध्यम महत्वपूर्ण रहेको बताए ।


पत्रकार महासङ्घ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्लेले पत्रकारले आचारसंहिताको पालना गर्नुपर्ने बताए । पत्रकार महासङ्घ कोशी प्रदेशकी महासचिव हिमा चेम्जोङले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेको बताइन् । कार्यक्रममा बोल्दै प्रा. डा. इन्द्रमोहन झाले विद्यालयलाई नमुना बनाउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।