भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरेको छ ।
गाउँपालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै आधुनिक प्रविधि र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सृजना गर्ने उद्देश्यले सम्मान गरेको हो । साधारण धारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप वितरण गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए । उनले शिक्षण सिकाइमा हौसला प्रदान गर्न विद्यार्थीलाई प्रोत्साहनस्वरूप ल्यापटप वितरण गरेको बताए ।
विद्यार्थीमा मिहिनेत, अनुशासन र लगनशीलताको विकासमा सहयोग पुग्ने उनको भनाई छ । शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न गाउँपालिकाले विभिन्न योजना सञ्चालन गरिरहेको छ ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले विद्यार्थीमा सकारात्मक प्रेरणा फैलाउँदै लगनशीलताको विकासमा हौसला प्रदान गर्न ल्यापटप वितरण गरिएको बताए । उनले शिक्षालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।
गाउँपालिकाले पछिल्ला वर्षहरूमा विद्यालयको शैक्षिक सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली, विद्यार्थी प्रोत्साहन कार्यक्रम तथा शिक्षक क्षमता विकासजस्ता क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस