किमाथाङ्का। सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ स्थित अरुण नदीको सतीघाटमा सञ्चालन हुँदै आएको फेरी सेवा बन्द गरिएको छ।


मनसुन सुरु भएसँगै नदीमा पानीको बहाव बढ्नुका साथै पानी धमिलो बनेपछि फेरी सञ्चालन रोकिएको हो। करिब एक सातादेखि फेरी बन्द रहेको षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईले जानकारी दिइन्। सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ र भोजपुरको षडानन्द नगरपालिका–६ लाई जोड्ने यो स्थानमा पक्की पुल नबनेकाले फेरी नै मुख्य आवतजावतको माध्यम रहँदै आएको छ। लम्सुवा घाटमा मोटरेबल पुल नहुँदा स्थानीय प्रशासनले सतीघाटमा अस्थायी रूपमा फेरी सञ्चालनमा ल्याएको थियो।


फेरी सेवा भोजपुरको उत्तरी क्षेत्रलाई खाँदबारी हुँदै तराईसँग जोड्ने महत्वपूर्ण मार्ग हो। यहाँबाट दैनिक १०० भन्दा बढी सवारीसाधन तथा यात्रु आवतजावत गर्ने गरेका थिए।


चार वर्षअघि सुरु गरिएको फेरी सेवा विशेष गरी निर्माण सामग्री, दैनिक उपभोग्य वस्तु तथा यात्रु ओसारपसारका लागि अत्यावश्यक मानिएको थियो। तर, अरुण नदीमा पानीको सतह बढेपछि अहिले पूर्ण रूपमा सेवा रोकिएको छ।


स्थानीयवासीले पक्की पुलको अभावका कारण वर्षेनी यस्तो समस्या दोहोरिने गरेको भन्दै दीर्घकालीन समाधानको माग गर्दै आएका छन्। रासस