विजयपुर । सुनसरीको धरान–१६ स्थित भगवती आधारभूत विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि विनियोजित बजेट फ्रिज हुने अवस्थामा पुगेको छ ।


संघीय सरकारबाट विद्यालयका लागि विनियोजित ३ करोड ५० लाख रुपैयाँ कार्यान्वयन हुन नसक्दा फ्रिज हुने भएको हो । आर्थिक वर्ष २०८१/८२ समाप्त भइसक्दासमेत दोस्रो चरणअन्तर्गतको निर्माण कार्य सुरु नभएपछि विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।


विद्यालयका प्रधानाध्यापक दिनेश कुमार खतिवडाका अनुसार विद्यालयको समग्र भौतिक पूर्वाधार विकासका लागि संघीय सरकारबाट कुल ७ करोड ३० लाख रुपैयाँ विशेष अनुदान स्वीकृत भएको थियो । पहिलो चरणमा ३ करोड ७० लाख रुपैयाँ बराबरको निर्माण कार्य सम्पन्न भइसकेको छ । दोस्रो चरणका लागि विनियोजित ३ करोड ५० लाख रुपैयाँको योजनाको ठेक्का प्रक्रिया सम्पन्न भए पनि निर्माण कार्य सुरु हुन सकेन ।


विद्यालयले बुझाएको ध्यानाकर्षण पत्रमा ठेक्का सम्झौता सम्पन्न भइसकेपछि पनि निर्माण कार्य अघि नबढ्नु र उपमहानगरले आवश्यक समन्वय तथा पहल नगर्दा योजना अन्योलमा परेको उल्लेख गरिएको छ । अभिभावक, स्थानीयवासी तथा सरोकारवालाबाट विद्यालय प्रशासनमाथि निरन्तर जिज्ञासा र दबाब बढ्दै गएको पनि पत्रमा उल्लेख छ ।


असार २६ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार उपमहानगरसमक्ष दुई बुँदे माग गरिएको छ । पहिलो, ठेक्का सम्झौता सम्पन्न भइसकेको योजना समयमै कार्यान्वयन हुन नसक्नुका प्राविधिक वा प्रशासनिक कारणबारे लिखित स्पष्टीकरण उपलब्ध गराउन माग गरिएको छ । दोस्रो, चालु आर्थिक वर्षमा कार्यान्वयन हुन नसकेको ३ करोड ५० लाख रुपैयाँको योजना तथा विद्यालयले माग गरेका अन्य पूर्वाधार योजनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने माग गरिएको छ ।