विजयपुर । ट्राफिक नियम उल्लंघनबापत उठाइने जरिवानाको २५ प्रतिशत रकम ट्राफिक प्रहरीले पाउने भन्ने दाबी भ्रामक र तथ्यहीन रहेको नेपाल प्रहरीले स्पष्ट पारेको छ ।


मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्ति जारी गरी २५ प्रतिशत कमिसन पाउने दाबीमा सत्यता नरहेको स्पष्ट पारेको हो । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले ट्राफिक प्रहरीले जरिवानाको २५ प्रतिशत कमिसन पाउने लोभमा नागरिकलाई सास्ती दिने गरेको दाबी गरेका थिए । उक्त अभिव्यक्तिपछि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचार तथा टिप्पणी सार्वजनिक हुन थालेपछि प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको हो ।


केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकबाट असुल गरिने सम्पूर्ण जरिवाना रकम नेपाल सरकारको राजस्व खातामा सिधै जम्मा हुने व्यवस्था रहेको उल्लेख गरिएको छ ।


प्रहरीका अनुसार जरिवानाबाट ट्राफिक प्रहरी वा अन्य कुनै प्रहरी कर्मचारीले अतिरिक्त सुविधा, प्रोत्साहन भत्ता वा प्रतिशतका आधारमा कुनै रकम प्राप्त गर्ने कानुनी व्यवस्था छैन ।


विज्ञप्तिमा आधिकारिक स्रोत वा तथ्य पुष्टि नगरी अनुमानका आधारमा समाचार वा टिप्पणी सार्वजनिक गर्दा आम नागरिकमा भ्रम फैलिने, सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर बन्ने तथा प्रशासनिक प्रक्रियामाथि अनावश्यक विवाद उत्पन्न हुने जोखिम रहने उल्लेख गरिएको छ ।


नेपाल प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सबै सरोकारवालालाई कुनै पनि सूचना वा समाचार सार्वजनिक गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न आग्रह गरेको छ । साथै, तथ्यहीन र भ्रामक सूचनाको पछि नलागी आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न आम नागरिकसँग अपिल गरेको छ ।