काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपासका गरी ३९ जिल्लामा बग्ने साना नदीको प्रवाह बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ ।
गोरखा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भएर बग्ने साना नदीको गति बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।
चितवन, तनहुँ, कास्की, स्याङ्जा, सुर्खेत र आसपासका जिल्ला भएर बग्ने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बताइन्छ । बाढीविद् विनोद पराजुलीले बुधबार र बिहीबार सात प्रदेशका साना नदीको प्रवाह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । रासस