विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणअनुसार कोशी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने सम्बन्धमा निर्णय लिन नेपाली कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठक विराटनगरमा सुरु भएको छ ।
नेकपा (एमाले) का मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार छोड्ने तयारी गरिए पनि सरकारमा सहभागी मन्त्रीहरूले नै पार्टी निर्णयप्रति असन्तुष्टि जनाएपछि कांग्रेसभित्र विवाद चर्किएको छ ।
कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, नेता एवं सांसदहरू अमृत अर्याल, गयानन्द मण्डल, मैयाँ श्रेष्ठलगायत सहभागी छन् । बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने औपचारिक निर्णय गर्ने प्रबल सम्भावना छ ।
तर, सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व गरिरहेका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारले भने बैठक बहिष्कार गरेका छन् । उनले आफू संयन्त्रको बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन् । स्रोतका अनुसार कांग्रेसको केन्द्रीय नेतृत्वले दिएको निर्देशन नमान्ने अडानमा केही मन्त्रीहरू रहेका छन्, जसका कारण पार्टीभित्रै दुई धार देखिएको छ ।
हाल कोशी सरकारमा कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री सुनुवारसहित स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोशीमा पनि नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको हो ।