विजयपुर । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु आवासीय माध्यमिक विद्यालयमा माउन्ट मकालु स्काउट ट्रुपको १०औँ स्थापना दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक हेमन्त कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रबिन दाहालले विद्यालयले स्काउटिङ अभियान विस्तारमा खेलेको भूमिकाको प्रशंसा गर्दै स्काउटले अनुशासित, स्वावलम्बी र जिम्मेवार नागरिक निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । प्रधानाध्यापक कार्कीले १० वर्षको यात्रा सबैको सहयोग र समर्पणका कारण सम्भव भएको बताए । कार्यक्रममा स्काउट लिडर बब्लु शाहले ट्रुपको १० वर्षे यात्रा र उपलब्धिबारे जानकारी दिए । कार्यक्रममा विभिन्न जिल्लाबाट आएका स्काउट लिडर, शिक्षक, विद्यार्थी तथा स्काउट सदस्यहरूको सहभागिता रहेको थियो । मार्चपास र सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई आकर्षक बनाएको विद्यालयले जनाएको छ ।