विजयपुर । सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासनका अनुसार औरही गाउँपालिका–२ का गणेश यादवको गोली लागेर मृत्यु भएको हो । सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार घटनामा अर्का एक जना घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
घटनापछि जिल्लाको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ । सिरहाको विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानमा आगजनी गरिएको छ । प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
बिहानदेखि विभिन्न स्थानमा तनाव बढेपछि प्रशासनले लागू गरेको कफ्र्यूको क्षेत्र विस्तार गर्दै लाहान र गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको हो ।
जिल्ला सुरक्षा समितिको निर्णय तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत कफ्र्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार लाहान नगरपालिकाका तोकिएका क्षेत्रमा दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्म कफ्र्यू लागू रहनेछ । कफ्र्यू क्षेत्रको पूर्वी सिमाना पूर्व–पश्चिम राजमार्गस्थित बलान खोलासम्म, पश्चिमी सिमाना सरस्वती खोला (बाटिका होटल पश्चिम), तथा दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गबाट ५०० मिटर दक्षिणसम्मको क्षेत्र समेटिएको छ ।
यस्तै, गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा पनि अर्को आदेश नभएसम्म अनिश्चितकालीन कफ्र्यू लागू गरिएको छ । कफ्र्यू क्षेत्रको पूर्वी सिमाना वडा नं. ३ स्थित कसहा खोला, पश्चिम चोहर्वा चोक, उत्तर वडा नं. ६ को सैनिक चोक तथा दक्षिण वडा नं. ४ स्थित रा. प्रा. रा. बहुमुखी क्याम्पस वरिपरिको क्षेत्र निर्धारण गरिएको छ ।
प्रशासनले कफ्र्यू लागू भएका क्षेत्रमा आवतजावत, भेला, प्रदर्शन, सभा, बैठक, घेराउ तथा नाराबाजी लगायतका गतिविधिमा पूर्ण प्रतिबन्ध लगाएको छ । नागरिकलाई कफ्र्यू आदेशको पूर्ण पालना गरी शान्ति–सुरक्षा कायम राख्न प्रशासनलाई सहयोग गर्न आग्रह गरिएको छ ।