विजयपुर । धरान उपमहानगरपालिकाले धरान–२ स्थित देशीलाइन क्षेत्रका स्थानीय व्यवसायीलाई छलफलमा आउन आह्वान गरेको छ ।
उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले बिहीबार स्थानीय व्यवसायीका माग, गुनासा र सरोकारका विषयमा समाधान खोज्न औपचारिक छलफलका लागि आह्वान गरेका हुन् । छलफल भोलि (शुक्रबार) हुने जनाइएको छ ।
उपमहानगरले जारी गरेको आह्वान पत्रमा पछिल्ला दुई दिनदेखि देशीलाइन क्षेत्रमा उठिरहेका विभिन्न विषयबारे आफू जानकार रहेको उल्लेख गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, प्रचलित कानुन तथा संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको सम्मान गर्दै संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
समस्याको दिगो, न्यायोचित र सहमतिमूलक समाधानका लागि सुनसरी उद्योग वाणिज्य संघको उपस्थितिमा सम्बन्धित सबै पक्षबीच छलफल आयोजना गरिएको पत्रमा उल्लेख छ ।
उपमहानगरले छलफलमा स्थानीय बासिन्दा, व्यवसायी तथा सरोकारवाला सबैलाई सहभागी भई आफ्ना धारणा, सुझाव, माग र विचार राख्न आग्रह गरेको छ । देशीलाइन सडक दुईतर्फी सञ्चालनको माग गर्दै स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका क्रममा सडक अवरुद्ध गरेपछि होटल व्यवसायी भूपाल राईसहित तीन जना पक्राउ परेका छन् ।