विजयपुर । धरान २ स्थित देशीलाइनका आन्दोलनरत व्यवसायीसँगको छलफल निष्कर्षबिहीन बनेको छ ।


शुक्रबार धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले आन्दोलनरत व्यवसायीलाई छलफलमा बोलाएका थिए । तर, छलफलबाट कुनै निर्णय हुन सकेन । धरान उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख गणेश खतिवडाका अनुसार छलफलमा विवाद उत्पन्न भएपश्चात निष्कर्षबिहीन बनेको हो । खतिवडाका अनुसार कार्यवाहक नगर प्रमुख बेघाले छलफलमा सबै सरोकारवालासहितको सहमतिअनुसार कार्यपालिकाबाट निर्णय भएकाले तत्काल निर्णय गर्न नसक्ने धारणा राखेपश्चात विवाद उत्पन्न भएको थियो ।


उनले भने, “छलफल चाँही भयो । सबैले आ–आफ्नै कुरा राखे । निर्णय केही भएन ।” कार्यवाहक प्रमुख बेघाले व्यवसायीको मागप्रति आफू सकारात्मक भएको तर अहिले नै निर्णय गर्न सकिदैन भनेपश्चात विवाद सुरु भएको थियो । धरान २ का वडाध्यक्ष रमेश राईसँग व्यवसायीको चर्काचर्की भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक समेत भएको छ । छलफलमा कार्यवाहक प्रमुख बेघाले सुरक्षा निकायसहित सरोकारवालासँग छलफल गरेर निष्कर्ष पुग्ने बताएका थिए । छलफलमा उपस्थित व्यवसायी नै पनि दुई धारमा विभाजित भएका थिए । कसैले अहिले नै निर्णय गर्नुपर्ने धारणा राखेका थिए भने केही छलफलपश्चात निर्णय गर्ने कुरामा सहमत भएका थिए । प्रशासन महाशाखा प्रमुख खतिवडाले भने, “छलफलमा विवाद उत्पन्न भएपछि सबै निस्किएर हिँडे, कुनै निष्कर्ष आएन ।” छलफलपछि कार्यवाहक प्रमुख बेघाले दोस्रो चरणको छलफलका लागि व्यवसायीबाट दुई जना प्रतिनिधिको नाम दिन आग्रह गरेका छन् ।


छलफलमा बोलाएपछि आन्दोलनकारीको सामान्य मागसमेत पूरा नगरेकाले व्यवसायी असन्तुष्ट बनेका छन् । धरान उपमहानगरले २०७९ फागुन ८ गतेदेखि बजार क्षेत्रमा एकतर्फी (वान–वे) यातायात व्यवस्था लागू गरेको थियो । हाल भानुचोकदेखि लक्ष्मीचोकसम्म सवारी एकतर्फी सञ्चालन हुने व्यवस्था छ भने उत्तर पहाडी क्षेत्रबाट आउने सवारीलाई लक्ष्मीचोक–पृथ्वीचोक–सिंहदेवी–माछाभौडी–देशीलाइन हुँदै भानुचोक प्रवेश गर्ने व्यवस्था गरिएको छ ।