विजयपुर । सुनसरीको कोशी गाउँपालिकाले सामाजिक सद्भाव कायम गर्न अनुरोध गरेको छ । सर्वपक्षीय बैठकले आफ्ना बालबालिकालाई आवश्यकताबाहक घरबाहिर नपठाउन पनि अनुरोध गरेको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते दुई समूहबीच भएको विवाद तथा झडपपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न निर्णय गरेको हो ।
बैठकले शान्ति र सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । साथै घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
गृह मन्त्रालय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायले शान्ति स्थापना गर्न गरिरहेका प्रयासमा सहयोग गर्न र नागरिकलाई संयमित व्यवहार गर्न पनि बैठकले अपिल गरेको छ ।
यस्तै, सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक तथा अफवाह फैलाउने सामग्री पोस्ट वा सेयर नगर्न तथा आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । संकटको समयमा प्रतिशोध र उत्तेजनाभन्दा धैर्य र संयमता अपनाउन बैठकले विशेष जोड दिएको छ ।
बैठकले पछिल्ला घटनाक्रममा युवा तथा बालबालिका भिडभाड र प्रदर्शनमा संलग्न भएकोप्रति चिन्ता व्यक्त गर्दै अभिभावकलाई आफ्ना बालबालिकामाथि निगरानी बढाउन, आवश्यकबाहेक घरबाहिर नपठाउन तथा हिंसात्मक गतिविधिबाट टाढा राख्न अनुरोध गरेको छ ।
स्थानीय तह, राजनीतिक दल, सुरक्षा निकाय र समुदायबीच आपसी समन्वयलाई थप प्रभावकारी बनाउँदै कानुनको सम्मान, सामाजिक सद्भाव र नागरिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ ।