धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबारबाट ‘इन्टिग्रेटेड पालिटिभ एन्ड होस्पिक केयर आधारभूत वर्कसप’ सुरु भएको छ ।
पाँच दिनसम्म चल्ने वर्कसपमा कोशी प्रदेशका विभिन्न अस्पतालहरूबाट मेडिकल पर्सनहरू सहभागी भएका छन् । पलिएटिभ केयर (उपशामक हेरचाह) गम्भीर बिरामी भएका व्यक्तिहरूको लागि विशेष चिकित्सा सेवा हो । यो पीडा, लक्षणहरू र तनावबाट राहत दिनमा केन्द्रित हुन्छ । यसको उद्देश्य बिरामी र उनीहरूका परिवार दुवैको जीवनको गुणस्तर सुधार्नु हो । यो कुनै पनि उमेर वा रोगको कुनै पनि अवस्थामा उपचारात्मक उपचारसँगै दिन सकिन्छ ।
विशेषगरी बिरामीहरूको उपचारसँगै उनका परिवारलाई पनि हेरचाह गर्नुपर्ने अवस्था सिर्जना गर्नका लागि पालिटिभ एन्ड होस्पिक केयरको अवधारणा विकास भएको जनाइएको छ । उद्घाटनको क्रममा भक्तपुर क्यान्सर अस्पतालअन्तर्गतका होसपिक एन्ड पालिटिभ केयरका विशेषज्ञ डा. विष्णु श्रेष्ठले बिरामीको उपचारमा अन्य परिवार पनि समस्यामा गुज्रिने भएकाले उनीहरूलाई पनि हेरचाह गर्नुपर्ने अवस्था रहेको बताए । त्यसका लागि नै पालिटिभ र होस्पिक केयरको आवश्यकता पर्दै गएको उनले बताए ।
“यी कुराहरू टेक्स्ट बुकहरूमा हुँदैनन्, भए पनि थोरै थोरै मात्रै पढेका हुन्छन् । तर व्यवहारमा जाँदा फरक हुनसक्छ । बिरामीको अवस्था, उसको पारिवारिक स्थिति आदि हेर्नुपर्ने हुन्छ” उनले भने, “बिरामीलाई कतिबेला क्वालिटी अफ लाइफ दिने भन्ने कुरा नै पालिटिभ केयरले सिकाउँछ ।” उनका अनुसार यो बिरामीमा मात्रै नभई चिकित्सकहरूको गुणस्तरीय जीवनबारे पनि बुझ्नुपर्ने हुन्छ । “कसैको घरमा कमाइ गर्ने मान्छे नै बिरामी परेको हुन्छ । त्यो बेला घरमा अन्य मेम्बरले कम्प्रमाइज गरेका हुन्छन् । त्यो बेला कसरी मेन्टेन गर्ने भन्ने कुरा हो”–उनले भने ।
नेपाल होस्पिक केयर सेन्टरको आयोजनामा जारी पाँच दिने वर्कसपमा तीन दिनसम्म प्राविधिक ज्ञान बाँडिने जनाइएको छ । जसमा सहभागीहरूलाई तीन वटा समूहमा विभाजन गरी तीन दिनसम्म प्राविधिक ज्ञान दिइने कार्यक्रम संयोजक एसोसिएट प्रोफेसर सोनिया दुलालले बताइन् । यसको संयोजन बीपीकेआइएचएस स्टुडेन्ट अङ्कोलोजी विङले गरिरहेको छ । उनका अनुसार टिचिङ लर्निङ सेसन, सीपहरूको बारेमा र सिकेका कुराहरूलाई कसरी व्यवहारमा उतार्ने भन्ने कुरा अन्तिम दिन मूल्याङ्कन गरिनेछ ।
कार्यक्रमको उद्घाटन बीपी प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्कीले गरेकी थिइन् । उनले पालिटिभ केयरमा पूर्वी नेपालमा बीपीकेआइएचएसको भूमिकाबारे बोलेकी थिइन् । यस्तै किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका प्रा.डा. विष्णुदत्त पौडेलले पालिटिभ केयरको आवश्यकीय तत्व र केयर सिस्टमका चारवटा पिल्लरहरूका बारेमा जानकारी गराएका थिए ।