विजयपुर । धनकुटामा प्रहरीले ६.५ रोपनी क्षेत्रफलमा अवैध रूपमा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेका इलाका प्रहरी कार्यालय छिन्ताङ र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–३ र साँगुरीगढी गाउँपालिका–९ का विभिन्न स्थानमा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।
प्रहरीका अनुसार उक्त क्षेत्रमा लगाइएका करिब ५ हजार ५५ वटा गाँजाका बेर्ना तथा बोटहरू फडानी गरी नष्ट गरिएको छ । अवैध लागूऔषध गाँजाको उत्पादन तथा कारोबार नियन्त्रण गर्ने अभियानअन्तर्गत प्रहरीले खेती फडानी र नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ ।