विजयपुर । सुनसरीको धरानमा पहिलोपटक रात्रिकालीन महिला अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।


डी–१९ क्लब धरान–१९ को आयोजनामा कात्तिक २८ गतेदेखि मङ्सिर ६ गतेसम्म धरान रंगशालामा प्रतियोगिता सञ्चालन हुने भएको हो । क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपालका तीन विभागीय टोली र भारतको एक टोलीसहित विभिन्न जिल्लाका गरी आठ टोलीको सहभागिता रहने जानकारी दिएको छ ।  प्रतियोगितामा एपीएफ क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, भारतको झारखण्डस्थित आक्वा फुटबल क्लब, बागमती फुटबल क्लब, काँकडभिट्टा ट्रेनिङ सेन्टर झापा, उदयपुर फुटबल क्लब र धरानको स्वर्णिम फुटबल क्लब सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फर्वार्ड, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिनेछ । डी–१९ क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले धरानलाई महिला फुटबलको नयाँ गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

उनका अनुसार प्रतियोगितामार्फत धरान तथा कोशी प्रदेशका महिला खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । यसले स्थानीय महिला खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूलाई व्यावसायिक फुटबलतर्फ अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

क्लबले महिला फुटबलको विकाससँगै स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउने, युवालाई सामाजिक विकृतिबाट टाढा राख्ने र फुटबललाई व्यावसायिक खेलका रूपमा विकास गर्ने उद्देश्य राखेको जनाएको छ । धरान लामो समयदेखि फुटबलको उर्वरभूमिका रूपमा परिचित रहेको उल्लेख गर्दै आयोजकले पहिलोपटक महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुनु धरानको खेलकुद विकासका लागि महत्वपूर्ण उपलब्धि हुने जनाएको छ ।