विजयपुर । सुनसरीको धरान उपमहानगरपालिकाका दुई विद्यालयमा विषयगत शिक्षकको अभावका कारण पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरूले नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय र धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालय, पानबारीका विद्यार्थीहरूले आवश्यक विषयगत शिक्षकको व्यवस्था गर्न माग गर्दै बिहीबार उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि विद्यार्थीहरूले नाराबाजीसमेत गरेका छन् ।
विद्यार्थीहरूका अनुसार सरस्वती माध्यमिक विद्यालयमा विगत नौ महिनादेखि माध्यमिक तहमा सामाजिक विषयको शिक्षक छैनन् । शिक्षकको अभावमा लामो समयदेखि उक्त विषयको पठनपाठन प्रभावित हुँदै आएको उनीहरूको भनाइ छ ।
त्यस्तै, ज्ञानोदय माध्यमिक विद्यालयमा अंग्रेजी र नेपाली विषयका शिक्षकको अभाव रहेको विद्यार्थीहरूले बताएका छन् । विषयगत शिक्षकको व्यवस्था गर्न आफूहरूले विगत तीन वर्षदेखि माग गर्दै आए पनि समस्या समाधान नभएको उनीहरूको गुनासो छ ।
विद्यार्थीहरूले आफूहरू नगर प्रमुखको कार्यकक्षमा पुगेपछि कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघा बाहिरिएको बताएका छन् । त्यसपछि नगर बाल सञ्जालका अध्यक्ष रोजन शंकरसहित दुवै विद्यालयका विद्यार्थीहरू उपमहानगरपालिका कार्यालयमा धर्नामा बसेका छन् ।
विद्यालयमा आवश्यक विषयगत शिक्षकको व्यवस्था गरी नियमित तथा प्रभावकारी पठनपाठनको वातावरण बनाउन विद्यार्थीहरूले उपमहानगरपालिकासँग माग गरेका छन् । पटक–पटक माग राख्दा पनि समस्या समाधान नभएपछि बाध्य भएर उपमहानगरपालिकाको कार्यालय घेराउ र तालाबन्दी गर्नुपरेको उनीहरूको भनाइ छ ।
आन्दोलनरत विद्यार्थीहरूले आफ्ना माग तत्काल सम्बोधन गरी विद्यालयमा आवश्यक शिक्षकको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्






























