काठमाडौँ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले आगामी दसैँ, तिहार, छठलगायतका चाडपर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकमा भएको छलफलबाट प्राप्त सुझाव, सल्लाह तथा रचनात्मक विचारका आधारमा उक्त निर्देशन दिइएको समितिका सभापति आशीष गजुरेलले जानकारी दिए ।
चाडपर्वका समयमा यात्रुको चापअनुसार पर्याप्त सार्वजनिक सवारीसाधन परिचालन गर्न, निर्धारित बसपार्कबाट मात्र सवारी सञ्चालन गर्न, तोकिएको स्थानबाट टिकट बिक्री गर्न तथा सुरक्षित स्थानमा मात्र यात्रु चढाउने–ओराल्ने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ।
त्यस्तै, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामैत्री सेवा उपलब्ध गराउन तथा यात्रु सहायता कक्षसहित आवश्यक सहजीकरणको व्यवस्था गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
चाडपर्वमा बढ्ने यात्रुको चापलाई ध्यानमा राख्दै सडकको अवस्था तथा सम्भावित जोखिमको पूर्वमूल्याङ्कन, वैकल्पिक मार्गको तयारी, सवारीसाधनको प्राविधिक परीक्षण, चालकलाई पर्याप्त विश्राम तथा सवारीको गति नियन्त्रण सुनिश्चित गर्न समितिले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।
बैठकले क्षमताभन्दा बढी यात्रु बोक्ने कार्य नियन्त्रण गर्न, एकीकृत बसपार्क नीतिको प्रभावकारी कार्यान्वयन गर्न तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय कायम गर्न पनि निर्देशन दिएको छ। यात्रुले टिकट नपाउने, तोकिएभन्दा बढी भाडा तिर्नुपर्ने तथा टिकटमा अनियमितता वा ठगी व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न सहज टिकट उपलब्धता, निर्धारित भाडादरको प्रभावकारी कार्यान्वयन र गुनासो सुनुवाइको बलियो संयन्त्रसहितको तत्काल कार्ययोजना तयार गरी लागू गर्न समितिले मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिले २०८३ सालको दसैँ, तिहार तथा छठलगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सहज, व्यवस्थित र मर्यादित बनाउन यसअघि गठन गरिएको उपसमितिमा सांसद राजुनाथ पाण्डेलाई सदस्यका रूपमा चयन गर्ने निर्णयसमेत गरेको छ।
सडक यात्राका क्रममा यात्रुले खरिद गर्ने खानेपानी, खाजा, खाना लगायतका उपभोग्य वस्तुमा मूल्य र गुणस्तरका नाममा ठगी हुन नदिन पनि सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ। रासस
































