विजयपुर । कोशी नदी किनारका विस्थापित बस्ती, त्यहाँका नागरिकको संघर्ष र सपनामा आधारित वेब सिरिज ‘कोशीका कथाहरू’ आगामी दशैंको फूलपातीदेखि प्रदर्शनमा आउने भएको छ।

युट्युब प्लेटफर्ममार्फत सार्वजनिक गरिने वेब सिरिजको ट्रेलर समेत सार्वजनिक गरिएको छ। सप्तकोशी तटीय क्षेत्रका मनोरम दृश्यहरूलाई समेटेर निर्माण गरिएको सिरिज आगामी असोज ३१ गतेदेखि सार्वजनिक गरिने निर्देशक सुहाङ कुलुङले जानकारी दिए।

हाम्रोपिपलगाछी युट्युब च्यानलमा सार्वजनिक गरिएको १ मिनेट ३१ सेकेन्ड लामो ट्रेलरमा कोशी नदीको वितण्डाबाट प्रभावित नागरिकको कथा प्रस्तुत गरिएको छ। “सप्तकोशीको नदी उकास बस्ती श्रीलङ्का टप्पुस्थित गरैयादेखिका कथाहरू छन्, जहाँका मानिसहरूले विभिन्न किसिमका दुःख भोग्दै आएका छन्,” निर्देशक कुलुङले भने, “वेब सिरिजमा ती विषयलाई कथानकका रूपमा प्रस्तुत गरेका छौं। कोशीबाट प्रताडित भएर वर्षौंदेखि भूमिहीन अवस्थामा बस्न बाध्य नागरिकले भोग्दै आएका समस्या र उनीहरूले बर्सेनि पाउने दुःखसँगै राज्यको दृष्टिकोणलाई समेत कथामा समेट्ने प्रयास गरेका छौं।”

वेब सिरिजमा सुबिना बानिया र अर्जुन श्रेष्ठले प्रमुख भूमिका निर्वाह गरेका छन्। त्यस्तै, राजन घिमिरे, लक्ष्मण कटुवाल, हिमाल राई, सुमन लामिछाने, प्रदीप बास्मे लगायत कलाकारहरूको पनि अभिनय रहेको छ। सिरिजको कथा, निर्देशन, सम्पादन तथा छायाङ्कन सुहाङ कुलुङले गरेका हुन्। ‘कोशीका कथाहरू’ प्रत्येक १५ दिनमा एक भागका रूपमा सार्वजनिक गरिने जनाइएको छ।