हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन् ।

मणिपाल अस्पतालको ओन्कोलोजी विभागका प्रमुख डा शेखर साल्करका अनुसार बिहान निवासमा अस्वस्थ भएपछि पाटेकरलाई अस्पताल ल्याइएको थियो । अस्पताल पुर्‍याउँदा उनको अवस्था गम्भीर भइसकेको थियो । चिकित्सकको टोलीले करिब ४५ मिनेटदेखि एक घण्टासम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरे पनि बचाउन नसकिएको डा. साल्करले बताए ।

उनका अनुसार पाटेकरले बिहान करिब २ः३० बजे आफूलाई असहज भइरहेको भन्दै एक साथीलाई सन्देश पठाएको थियो । रातको समय भएकाले साथीले तत्काल सन्देश देखेनन् । त्यसपछि उनले पाटेकरलाई फोन गरे र बिहान करिब ४ बजे उनको निवासमा पुगे । त्यतिबेला पाटेकरलाई अत्यधिक पसिना आएको र उनी बिस्तारै बेहोस हुँदै गएकाे थियो ।

अस्पतालको आपत्कालीन टोलीले निवासमै पुगेर उनलाई सिपिआर दिएको थियो । त्यसपछि बिहान करिब ४ः२० देखि ४ः३० बजेको बीचमा अस्पताल ल्याइएको थियो । “उनी पूर्ण रूपमा अनुत्तरदायी अवस्थामा थियाे । अस्पताल ल्याएपछि पनि हामीले सक्दो प्रयास गर्‍यौँ, तर उनलाई मृत अवस्थामा ल्याइएको थियो”, डा साल्करले भने ।

पाटेकरको निधनपछि मेडिको–कानूनी प्रक्रिया अघि बढाइएको र शव पोस्टमार्टमका लागि गोवा मेडिकल कलेजमा लगिएको चिकित्सकले बताए । उनका परिवारका सदस्य त्यतिबेला उपस्थित नभए पनि साथी र हेरचाहकर्ता भने साथमा रहेको जनाइएको छ ।

पाटेकरले सन् १९७८ मा ‘गमन’ चलचित्रबाट अभिनय यात्रा सुरु गर्नुभएको थियो । उनले ‘परिन्दा’, ‘प्रहार’, ‘क्रान्तिवीर’, ‘तिरङ्गा’, ‘खामोशी’ र ‘अब तक छप्पन’ लगायतका चलचित्रमा अभिनय गर्नुभएको थियो । पछिल्ला वर्षमा पनि उनी चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो र ‘हाउसफुल ५’, विशाल भारद्वाजको ‘ओ’ रोमियो’ तथा ‘सुबेदार’ मा अभिनय गरेको थियो ।  रासस/एएनआई