देउराली । नेकपाकाे लालकिल्ला भनेर चिनिने धरानमा लामाे समयपछि नेपाली काग्रेसले जितेसंगै सरकार विरुद्धको जनमत तथा पार्टी एकीकरण ढिलाइलगायतका कारणले पाराजित हुनु परेकाे हुनसक्ने नेकपाका निर्वाचन प्रचार-प्रसार समितिका संयोजक रमेस बस्नेतले बताएका छन् ।

उनले निरन्तर नेकपाले जित्दै आएको धरानमा नेपाली कांग्रेसले जित्दा आम जनमानसमा किन भयो  ? कसरी भयो ? भन्ने कैतुहलता भएको बताउदै उनले भने, ‘विषेश गरी विकाशोन्मुख मुलुकमा सरकारका विरुद्ध जनमत हुने, जनताका धेरै अकाक्षाहरू सरकारले पूरा गरिरहेको नहुने कारणले पनि यस्ताे वातावरण सिर्जना हुने गरेको हुन्छ ।’

उपनिर्वाचन नजिकिदै गर्दा झण्डै डेढ महिनाअघि मात्र नगर कमिटी  सञ्चालन गर्न सफल भएको बताउदै उनले भने, ‘करिब दुई वर्षदेखि हाम्रो पार्टी एकीकरणका संगठनात्मक कामहरू भएका छन् । झन्डै डेढ महिनाअघि देखिमात्रै कमिटी सञ्चालन गर्ने, टोल कमिटीहरू गठन गर्ने तथा समायोजन गर्ने काम गरेका थियौ । जुन निकै ढिलो भइसकेको थियो । त्यस कारण पर्याप्त प्रचार पनि हुन सकेन ।’

दुई बर्षको अवधिमा कांग्रेसको राजनैतिक उपस्थित रहँदै गर्दा नेकपाको उपस्थिति शून्य हुनु र निर्वाचनको अन्तिम अवस्थामा जोडिनुले दूरीअनुसार गति ढिलो भएको हुन सक्ने बताउदै उनले तल्लो तहसम्मकै घटनाक्रमहरु नबुझुन्जेल  यकिन गरेर भन्न नसकिने बताएका छन् ।

निरन्तर नेकपाले नेतृत्व गर्दै आएको धरानमा २०७४ साल भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट उम्मेदवार तारा सुब्बा विजयी बनेका थिए । करिब एक वर्षको कार्यकालपछि उनको निधन भएकासँगै रिक्त रहेको मेयर पदको उपनिर्वाचनमा तत्कालीन एमाले र माओवादीको एकीकरण भएसँगै तीनै तहमा नेतृत्व गरिरहेको नेकपाले बचाउन सकेन ।

एकीकरणपछि संगठनात्मक हिसावले निकै ठूलो पार्टी बनेको नेकपा उपनिर्वाचनमा पनि संगठनात्मक आधारलाई नै जीत हासिल गर्ने मुख्य आधार मानिरहेको थियो । २०७४ सालका तत्कालीन एमाले र माओवादीले प्राप्त गरेको मतको अङ्क गणितले पनि ८० प्रतिशतभन्दा धेरै मत देखाएइ रहेको नेकपालाई उपनिर्वाचनमा झण्डै २७९५ मत अन्तरले कांग्रेसले हराएको छ ।