विराटनगर । औद्योगिक नगरी विराटनगरमा पहिलो पटक कार्गो रेल आइपुगेको छ । भारतको कोलकाता बन्दरगाहबाट रेलमार्फत्, ल्याइएको पहिलो कार्गो रेल विराटनगर–१८ भेडियारीस्थित नेपाल कस्टम यार्डमा सोमबार दिउँसो आइपुगेको हो । यो सँगै पूर्वी नेपालको वैदेशिक व्यापारमा नयाँ युगको सुरुवात भएको उद्योगी व्यवयासीको भनाइ रहेको छ ।
तेस्रो मुलुकबाट आयात हुने मालसामानको रेल ढुवानी सेवा पहिलो पटक विराटनगरसम्म विस्तार हुनुलाई यस क्षेत्रका उद्योगी र व्यवसायीले उत्साहका साथ स्वागत गरेका छन् । यसअघि यस्तो सुविधा वीरगञ्ज नाकामा मात्र सीमित थियो । रेल सेवाको यो विस्तारले पूर्वी नेपालका उद्योगी तथा आयातकर्ताहरूको लामो समयदेखिको प्रतीक्षालाई सुखद् अन्त्य गरिदिएको छ ।
ढुवानीमा सहजता र लागतमा कटौती
कोलकाताबाट प्रस्थान गरेको पहिलो कार्गो रेलले नेपालको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० वटा कन्टेनर विराटनगर ल्याएको छ । मर्सक लाइनका ती कन्टेनरमा ढुवानीको सुरक्षा सुनिश्चित गर्न अत्याधुनिक ‘इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम’ (ईसीटीएस) जडान गरिएको छ । यस प्रविधिले मालसामानको अवस्था र लोकेसनबारे रियल–टाइम जानकारी दिने हुनाले चोरी वा बीच बाटोमा हुने क्षतिलाई न्यूनीकरण गर्दछ ।
यो ऐतिहासिक कार्य नेपाली महावाणिज्यदूतावास (कोलकाता), कोलकाता भन्सार, कोलकाता पोर्ट ट्रस्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कन्कोर) को निरन्तर समन्वय र पहलका कारण सम्भव भएको हो । रेल कार्गो सेवा पूर्णरूपमा सञ्चालनमा आएसँगै एकैपटक ठूलो मात्रामा सामान ल्याउन सकिने र सडक मार्गको तुलनामा ढुवानी लागत ३० देखि ४० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ ।
उद्योगीहरूमा उत्साह
विराटनगरसम्म रेल कार्गो सेवा विस्तार हुनु पूर्वी नेपालको औद्योगिक वातावरणका लागि ‘गेम चेन्जर’ हुने विश्वास गरिएको छ । उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार, यो सेवाले औद्योगिक कच्चा पदार्थको ढुवानी समय र लागत दुवै उल्लेख्य रूपमा घटाउनेछ । “रेल सेवा सुरु भएपछि यहाँका उद्योगी व्यवसायीहरूलाई ठूलो राहत पुग्नेछ,’’ अध्यक्ष राठीले भने, “यसले हाम्रा उद्योगहरूको उत्पादन लागत घटाउनेछ र नेपाली उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धात्मक बनाउन सहयोग पुग्नेछ ।’’
त्यसैगरी, उद्योगी सुयष प्याकुरेलले रेलमार्ग सडकको तुलनामा सुरक्षित र भरपर्दो भएको बताए । उनका अनुसार कोलकाताबाट विराटनगरसम्म मालसामान करिब २४ घण्टामै आइपुग्ने हुनाले बन्दरगाहमा लाग्ने विलम्ब शुल्क (डेमरेज) र कन्टेनर डिटेन्सन चार्ज जोगिनेछ । सडक ढुवानीमा हुने ढिलाइ र झन्झटबाट मुक्ति मिल्दा समग्र आपूर्ति शृङ्खला (सप्लाइ चेन) मै सकारात्मक प्रभाव पर्ने उनको तर्क छ ।
भन्सार प्रशासन र कानूनी प्रक्रिया
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले कार्गो रेल सेवालाई निरन्तरता दिँदै यसलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । नेपाल–भारत पारवहन सम्झौताको मर्मअनुसार तेस्रो मुलुकसँगको व्यापारमा रेल र जलमार्गको अधिकतम् प्रयोग गर्ने सरकारको नीति रहेको उनले प्रष्ट पारे । भारत सरकारले इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमसम्बन्धी नियम संशोधन गरेसँगै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट सिधै विराटनगरसम्म रेलमार्फत् कार्गो ढुवानीको बाटो खुलेको हो । नेपाली महावाणिज्यदूतावासको विशेष पहलमा भारतीय भन्सारले जोगबनीस्थित यार्ड हुँदै नेपालको एकीकृत जाँच चौकी (आईसीपी) सम्म रेल ल्याउने प्रक्रियागत गाँठो फुकाएको थियो ।
भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेल्वे स्टेसनसम्मको दूरी करिब ८ किलोमिटर छ । यो रेलमार्ग २०७५ कात्तिकमै परीक्षण गरिएको भए पनि प्राविधिक र प्रक्रियागत कारणले नियमित कार्गो ढुवानी हुन सकेको थिएन । २०८० जेठ १८ गते पनि यसको पुनः परीक्षण गरिएको थियो ।
बथनाहा–विराटनगर–कटहरी १८.१ किलोमिटर लामो रेलमार्ग निर्माणको योजना सन् २०११ मा सुरु भएको थियो । भारत सरकारको करिब ३ अर्ब ७३ करोड भारतीय रुपैयाँको आर्थिक र प्राविधिक सहयोगमा यो परियोजना अघि बढेको हो । भारतीय कम्पनी ‘इरकोन’ ले निर्माणको जिम्मा लिएको यो रेलमार्गको नेपालतर्फ १३ किलोमिटर र भारततर्फ ५ किलोमिटर खण्ड पर्दछ ।
कार्गो रेलको सफल आगमनपछि अब सबैको ध्यान यात्रुवाहक रेलतर्फ मोडिएको छ । यद्यपि, यात्रुवाहक रेल सञ्चालनका लागि कटहरीसम्मको बाँकी मार्ग सम्पन्न हुनुपर्ने स्थानीयको माग छ । कटहरीमा अन्तिम स्टेसन निर्माणको काम भइरहे पनि केही स्थानमा मुआब्जा विवादका कारण काममा अवरोध पुगेको थियो । हाल स्थानीय प्रशासनको पहलमा मुआब्जा विवाद समाधानउन्मुख रहेको र कटहरीसम्म रेल पुर्याउने लक्ष्यका साथ काम भइरहेको रेल विभागले जनाएको छ ।
