विजयपुर । सुनसरीमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
इटहरी–८ स्थित विद्युत् वितरण केन्द्र नजिक कोठा भाडामा लिएर बस्दै आएका मोरङ केराबारी गाउँपालिका–१ का २१ वर्षीय रेजन विश्वकर्मालाई पक्राउ गरेको हो । कोठामा प्रहरीले खानतलासी गर्दा ब्राउन सुगर ०.६० ग्राम, २ हजार १ सय ७१ पिस प्रतिबन्धित औषधि, नगद ५३ हजार २१० रुपैयाँ तथा को.३६ प.५५४७ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको टोलीले गरेको कारबाहीमा विश्वकर्मासहित मोरङ पथरी शनिश्चरे नगरपालिका–५ का २६ वर्षीय निकेश माझी, इटहरी–८ का २२ वर्षीय युवराज विक र झापाको मेचीनगर नगरपालिका–८ का २१ वर्षीय सन्देश राउत पक्राउ परेका छन् । उनीहरूलाई बरामद सामग्रीसहित इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धरान–१६ स्वामीचोकबाट प्रहरीले लागूऔषधसहित स्थानीय २१ वर्षीय विदुर कार्कीलाई पक्राउ गरेको छ। लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले कार्कीको कोठाबाट ९७६ प्रतिबन्धित औषधि बरामद गरेको हो । कार्कीलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।