नेपाल मण्डलको जेठो र अत्यन्त समृद्ध पहिचान बोकेको नेवार समुदाय कला, वास्तुकला, जीवनदर्शन र जात्राहरूको एउटा जीवन्त सङ्ग्रहालय हो । नेवारी लोकजीवन, सामाजिक संरचना र अध्यात्म यसरी बुनिएका छन्, जहाँ लौकिक संसार र अलौकिक शक्तिहरू एकै ठाउँमा हातेमालो गर्दै सँगै नाच्छन् । यही संस्कृति र सभ्यताको सर्वोत्कृष्ट, विस्मयकारी र रहस्यमयी कडी हो–लाखे जात्रा (नेपाल भाषामाः लाखे प्याखं) ।
भाषाविद् र संस्कृतिविद्हरूका अनुसार, ‘लाखे’ शब्दको उत्पत्ति ‘लाः’ र ‘खेः’ बाट भएको मानिन्छ । पुरातन समयमा नरभक्षी वा मासु (लाः) र अण्डा (खेः) जस्ता तामसी भोजन खाने जङ्गली मानव वा राक्षसलाई ‘लाःखेः’ भनिन्थ्यो । यही शब्द अपभ्रंश हुँदै पछि ‘लाखे’ बन्न गएको भनाइ छ । सामान्य मानिस वा वाह्य समाजका लागि लाखे भन्नाले डरलाग्दो मुखुन्डो लगाएको, आँखा ठूला–ठूला पारिएको, दाह्रा निस्किएको र कपाल जिङ्रिङ्ग भएको कुनै आदिम जङ्गली राक्षस, हिंस्रक दैत्य वा मानवभक्षी प्राणी भन्ने बुझाइ हुनसक्छ ।
तर, नेवारी सांस्कृतिक दर्शन, तान्त्रिक गुठी मान्यता र लोकआख्यानको गहिराइमा पुग्ने हो भने लाखे केवल एउटा संहारक प्राणी मात्र होइन । लाखे त गहिरो मानवीय संवेदना, अलौकिक पौराणिक प्रेम, अद्भूत भक्ति, पुख्र्यौली श्रमप्रतिको सम्मान र नेवार समुदायको अगाध धार्मिक आस्थाको जीवन्त उत्सव हो ।
यो एउटा यस्तो दर्शन र इतिहास बोकेको अद्वितीय परम्परा हो, जसले प्रतिपादन गर्छ कि जस्तोसुकै आसुरी, हिंस्रक वा संहारक शक्तिलाई पनि मानवीय प्रेम, करुणा, अपनत्व र तान्त्रिक विधिद्वारा लोककल्याणकारी दैवी शक्तिमा रूपान्तरण गर्न सकिन्छ ।
नेपालका विभिन्न भित्री सहरहरूमा भिन्न–भिन्न स्वरूप र पर्वहरूमा मनाइने यो जात्राले समाजलाई एउटै बलियो सांस्कृतिक र भावनात्मक सूत्रमा बाँध्ने काम गरेको छ । नेवार संस्कृतिभित्र भौगोलिक अवस्थिति, पर्व र ऐतिहासिक पृष्ठभूमिका आधारमा लाखेका विभिन्न विशिष्ट प्रकार र स्वरूपहरू छन्, यस लेखमा भने प्रेममा वशीभूत भएर परिवर्तन भएको लाखेको चर्चा छ, जसको आफ्नै लोकआख्यान छः
क) मजिपाः लाखे–
काठमाडौँको ऐतिहासिक भित्री सहरमा मनाइने प्रसिद्ध ‘मजिपाः लाखे’ लाई नेवार समुदायले ‘लाखे आजु’ (जिजुबुबा देवता) वा ‘शान्त भैरव’ का रूपमा उच्च आदरका साथ पुज्छन् । यसको किंवदन्ती अनुसार, काठमाडौँ उपत्यकामा एक राक्षस कुलमा जन्मिएको युवा, जसलाई पछि लाखे भनियो, एक ज्यापू किसानकी छोरी बाँलामैँचाको रूप देखेर प्रेममा पागल हुन्छ । लाखेले मानव रूप धारण गरी बाँलामैँचालाई भेट्ने गर्छ, तर बाँलामैँचालाई लाखे राक्षस हो भन्ने कुरा थाहा हुँदैन । उनीहरू येँ लायकु (वसन्तपुर) नजिकै मजिपाःमा बस्ने बाँलामैँचा खेतमा काम गर्ने बहानामा लाखेलाई भेट्न जान्थिन्, र लाखे पनि खेतमा आएर काम सघाउँदै आफ्नी प्रेमिकासँग दिन बिताउँथ्यो ।
एक दिन बाँलामैँचाले लाखेलाई जाँड खुवाएर लठ्ठ पारेपछि गुफाबाट भाग्छिन् । खोज्दै आएका गाउँले युवाहरूसँग भेटेपछि उनी बाबुआमाकहाँ पुग्छिन् । बाँलामैँचा भागेर आएपछि लाखे उनलाई खोज्दै ज्यापूको घर आइपुग्छ । बाँलामैँचाका बाबुआमाले लाखेलाई समातेर राजाकहाँ सुम्पिन्छन् । राजाले बाँलामैँचा र लाखेसँग सोधपुछ गर्छन् । लाखेले बाँलामैँचालाई कुनै पनि हालतमा छोड्न नसक्ने र यदि उनीसँग बस्न दिएमा राज्यका लागि जस्तोसुकै सहयोग गर्ने वचन दिन्छ ।
यदि सजाय दिएमा गाउँमा सधैँ दुःख दिइरहने धम्की पनि दिन्छ । तान्त्रिकहरूबाट लाखेसँग साँच्चै शक्ति रहेको जानकारी पाएपछि उसको वास्तविक राक्षसको रूप खुल्दा गाउँलेहरूले कुटपिट गरे पनि उसको निश्चल प्रेम र आत्मसमर्पण देखेर राजा र समाजले उसलाई स्वीकारे ।
राजाले लाखेलाई आफ्नो राज्यमा बस्ने प्रबन्ध मिलाउने र बाँलामैँचाको विवाह लाखेसँग नै गराउने निर्णय गर्छन् । मजिपाटमा लाखेका लागि घर तयार गरी घरज्वाइँका रूपमा बसाउने निर्णय हुन्छ । यो सुनेर लाखे खुसीले नाच्न थाल्छ । तर, उसको बेढङ्गको शरीर र डरलाग्दा आँखा देखाएर बाह्रै महिना नाच्दै बस्दा बच्चाहरू डराउन थाले ।
राजाले दरबारमा सल्लाह गरेर लाखेलाई नाचगान गर्ने निश्चित समय तोके । उसले अब निश्चित समयमा मात्र नाच्न पाउने भयो र अन्य समयमा राज्यको सुरक्षा गरेर बस्नुपर्ने नियम बाँधियो । सम्झौता अनुसार, लाखेलाई वर्षभरि जथाभाबी बस्तीमा आउन प्रतिबन्ध लगाइयो । उसलाई नेवारहरूको पवित्र महिना ‘गुँला’ (साउन–भदौ) देखि कृष्ण जन्माष्टमी (वा कतिपय स्थानमा इन्द्रजात्रा) सम्मको समयावधिमा मात्रै मानव बस्तीमा आउन, नाच्न र घुम्न पाउने कडा नियम तोकियो ।
ख) मिप्वाः लाखे (ललितपुर)– आगो ओकल्ने तान्त्रिक रक्षक
पाटन वा ललितपुर क्षेत्रमा देखाइने लाखेको यो अद्वितीय स्वरूप विभिन्न सांस्कृतिक पर्व तथा जात्राहरूमा, विशेषगरी गथांमुगः (घण्टाकर्ण चतुर्दशी) को मध्यरातमा प्रस्तुत गरिन्छ । ‘मिप्वाः लाखे’ (आगो ओकल्ने लाखे) को किंवदन्ती अनुसार प्राचीनकालमा वर्षायाममा पाटन नगरमा अदृश्य भूतप्रेत र महामारी फैलाउने विषाक्त वायुका कीटाणुहरूले ठूलो दुःख दिएका थिए ।
पाटनका सिद्ध तान्त्रिकहरूले नासाः द्यः (नृत्यका देवता) को अगाडि उग्र अग्नि अनुष्ठान गरेपछि यस लाखेको उदय भयो । यस लाखेको विशेषता नै मुख र हातका प्वालहरूबाट साक्षात् आगोका दनदनी बलिरहेका ज्वाला र गोलाहरू -Fireballs_ ओकल्नु हो । यसको आगोको ताप र प्रकाशले टोल–टोलमा लुकेका दुष्ट आत्माहरू भस्मीभूत हुने र नगर शुद्ध हुने दरिलो विश्वास छ ।
पाटनतिर प्रचलित अर्को किंवदन्तीअनुसार, लाखेको प्रेमिका पाटन पिम्बहाः नजिकै बस्थिन् । लाखे सधैँ मानिसहरू सुतिसकेपछि अँध्यारोमा हातमा आगो बाल्दै प्रेमिकालाई भेट्न आउँथ्यो । प्रेमिकाले बिहानै टाढा पानी भर्न जानुपर्ने भन्दै लाखेसँग छिट्टै छुट्टिन्थे । आफ्नी प्रेमिकाले दुःख पाएको र आफूसँग बस्ने लामो समय नपाएको हुँदा लाखेले पिम्बहाःमा नै पोखरी खन्ने निधो गर्छ । रातभरिमा गोदावरीदेखि ढुङ्गा ल्याएर पोखरी बनाउने निधो गरेर ढुङ्गा ओसार्दै गर्दा एक जना मानिसले देखे ।
ती मानिसले पूर्णचण्डीमा पनि पोखरी बनाउन अनुरोध गर्दै ढुङ्गा केही पूर्णचण्डीका लागि पनि ल्याउन लगाए । रातभरमा सबै काम गर्न निकै हतार भयो । पोखरीका लागि खाल्डो खनेर ढुङ्गा केवल बिछ्याए मात्र र त्यसैमाथि पानी भरे । न त ढुङ्गा माटोको गाह्रो नै लगाउन पाए । हतारहतार जग नै नराखी बनाएको पोखरी हुँदा यसलाई ‘जगमदू पुखु’ पनि भन्ने गरिन्छ ।
पानी भर्दाभर्दै बिहान भयो र मानिसहरू बाहिर निस्कन थालेपछि लाखे पोखरीको पिँधमा रहेको ‘लाखे ल्होँ’ नामक ढुङ्गामा नै लुके । बिहानी पख पिम्बहाःमा पोखरी देखेपछि सबै खुसी भए, तर कसले बनायो भन्ने चाल पाएनन् । लाखेकी प्रेमिकालाई मात्र थाहा थियो । भोलिपल्ट राति लाखे आउने बाटो हेर्दै बसेकी प्रेमिकाले लाखेलाई भेट्न सकिनन्, किनकि लाखे ढुङ्गाको कापमा पोखरीमुनि लुकेको निस्कन नै सकेन ।
अहिले पनि पिम्बहाःको पोखरीको एक कुनामा लाखे लुकेको ढुङ्गा ‘लाखे ल्होँ’ रहेको छ । हिउँदमा सुख्खा मौसम हुँदै जाँदा पानीको सतह घट्दै जान्छ र त्यसबेला लाखे ल्होँ देखिन्छ । स्थानीयमा एउटा विश्वास अझै छ कि लाखे ल्होँमा घाम परेपछि वर्षात् सुरु हुन्छ । यसरी यो लाखे पिम्बहाःको पोखरीमा अझै भएको विश्वास गर्ने गरिन्छ । हातमा आगोको लप्का बालेर आउने लाखे भएको हुँदा यो लाखेको नाम ‘मिः प्वाः लाखे’ रहन गयो ।
मजिपाः लाखे र बाँलामैँचाको प्रेम
लाखे परम्पराको सबैभन्दा सुन्दर र दार्शनिक पक्ष भनेकै ‘क्रोध र असुरमाथि प्रेम र करुणाको विजय’ हो । लाखेको त्यो भयानक र उग्र आसुरी शक्ति साँचो प्रेमको अगाडि पूर्णरूपमा वशीभूत (वशमा) र पराजित भएको थियो । जुन राक्षसले सिङ्गो सहरलाई आफ्नो एकै प्रहारमा तहसनहस पार्न सक्थ्यो, उसलाई एउटी मानव युवतीको एउटा मुस्कान र प्रेमको कोमलताले मन्त्रमुग्ध पारिदियो । प्रेमले लाखेको भित्र लुकेको पाशविक क्रोधलाई सदाका लागि पखालेर उसलाई पूरै विनम्र, शान्त, अनुशासित र निष्पाप बनाइदियो । लाखे आफ्नो दानवता त्यागेर मानिस जस्तै कोमल प्रेमी बन्न तयार हुनु नै प्रेमको वास्तविक र शाश्वत् विजय थियो ।
जब लाखेले आफ्नी प्रेमिकालाई आफ्नो जीवनसङ्गिनीको रूपमा प्राप्त ग¥यो र मानव समाजबाट वैधता पायो, तब खुसीको सीमा रहेन । वर्षौंको जङ्गलको एक्लोपन र तिरस्कारपछि आफ्नो साँचो प्रेम पाएको खुसीयालीमा लाखेले गौरवका साथ, प्रेमिल भावमा डुबेर स्वतन्त्र रूपमा नाच्ने र बजार घुम्ने अवसर प्राप्त गर्छ । जात्राका क्रममा लाखे जब गल्ली–गल्ली र प्राचीन चोकहरूमा तीव्र गतिमा फन्को मार्दै (घुम्दै) नाच्छ, त्यो वास्तवमा आफ्नो प्रेम सफल भएकोमा व्यक्त गरिएको परम् आनन्द र खुसीयालीको नृत्य हो ।
खाने दिने र बिदा गर्ने परम्परा
यस निश्चित समयावधिभरि लाखेले नगरको पहरेदारी गर्नुपर्ने हुन्थ्यो । यसबापत गाउँलेहरूले लाखेलाई आदरपूर्वक खाना (विशेषगरी समयबजि, दही–चिउरा र बलि) दिने व्यवस्था गरे । यो अवधिभरि लाखेले टोल–टोलमा पुगेर मानिसहरूले दिएको भोजन ग्रहण गर्छ र आशिष दिन्छ । तर, जब कृष्णाष्टमीको भोलिपल्ट वा इन्द्रजात्राको समापन हुन्छ, तब लाखेको यो समय सीमा सकिन्छ । तान्त्रिक विधिद्वारा उसलाई दही–चिउरा र समयबजिको अन्तिम भोज खुवाएर, पूजाआजा गरी पुनः मानव बस्तीभन्दा टाढा जङ्गल वा देवगृहको बन्द कोठामा फिर्ता पठाइन्छ (बिदा गरिन्छ) । यसरी लाखेको अधिकार र उपस्थितिलाई समाजले नियम र अनुशासनको परिधिभित्र बाँधेको छ ।
‘गुठी’ संस्कृतिसँग लाखेको सम्बन्ध
लाखे परम्परा केवल कथाहरूमा मात्र सीमित छैन; यो सिङ्गो नेवार जातिको जातीय संरचना, वर्गीकरण र सांस्कृतिक मेरुदण्डसँग अभिन्न रूपमा जोडिएको छ । नेवार समाजभित्र रहेका अनेकौँ जात र उपजातिहरूका आ–आफ्नै कुलदेवता, तान्त्रिक गुठी र तिनैसँग जोडिएका भूमिकाहरू छन् । रञ्जितकार (छिपा) समुदाय र मजिपा लाखेः काठमाडौँको मजिपा लाखेको सम्पूर्ण व्यवस्थापन, तान्त्रिक पूजा र नर्तक बन्ने अधिकार विशेषगरी नेवार समुदायभित्रको ‘रञ्जितकार’ (छिपा) जातमा मात्र निहित छ ।
शाक्य र बज्राचार्य समुदायको बौद्ध तान्त्रिक सम्बन्धः उपत्यकाका धेरै बौद्ध बहाल र विहारहरूमा निकालिने लाखे नाचको सम्बन्ध नेवारका शाक्य र बज्राचार्य समुदायसँग जोडिएको छ । बौद्ध नेवारहरूले लाखेलाई बुद्ध धर्मको रक्षा गर्ने ‘धर्मपाल’ (एचयतभअतयच या म्जबmmब) का रूपमा स्वीकारेका छन् । ज्यापू समुदाय र कृषिको जगः नेवार समाजको ठूलो हिस्सा ओगट्ने ज्यापू (श्रमजीवी र कृषक) समुदायसँग लाखेको सम्बन्ध उत्पादन, भूमि र श्रमसँग जोडिएको छ । लाखेका अधिकांश प्रेमकथाहरू ज्यापू कन्याहरूसँगै ठोक्किन्छन् ।
लाखेसँग ‘झ्याँलिनचा’ को प्रसङ्ग
लाखे नाच मुख्य रूपमा ‘धाः बाजा’, ‘भूस्याः’ (झ्याली), र ‘धिमे’ को विशिष्ट तालमा नाचिन्छ । यस नृत्यको सबैभन्दा रोचक र जीवन्त पक्ष भनेको लाखेको अगाडि नाच्ने सानो बच्चा वा पात्र ‘झ्याँलिनचा’ हो । झ्याँलिनचाले परम्परागत पोसाक लगाएर हातमा सानो झ्याली वा रुमाल लिएर लाखेलाई गिज्याउने र जिस्क्याउने गर्छ । जब आक्रोशित लाखे उसलाई समात्न आउँछ, ऊ आफ्नो फूर्तिलोपनाका कारण फुत्त खुट्टाको मुनिबाट उम्किएर भाग्छ ।
वर्तमान अवस्था, विकृति र संरक्षणका चुनौतीहरू
समयको क्रूर गति, पश्चिमा संस्कृतिको बढ्दो प्रभाव र आधुनिकताको तीव्र आँधीका कारण यो अमूल्य अमूर्त सांस्कृतिक सम्पदाले आज केही गम्भीर चुनौती र विकृतिहरूको सामना गरिरहेको छ । गुठीका नाममा रहेका जग्गाहरू मासिएका कारण धेरै गुठीहरू चरम् आर्थिक सङ्कटमा छन्, जसले गर्दा महँगा पोसाक, ऐतिहासिक मुखुन्डो मर्मत, र कडा तान्त्रिक पूजाहरूलाई निरन्तरता दिन कठिन हुँदै गइरहेको छ ।
त्यस्तै अचेल विभिन्न व्यापारिक मेला, महोत्सव वा होटलका साधारण समारोहहरूमा समेत लाखेलाई एउटा सामान्य ‘शो–पिस’ वा विशुद्ध मनोरञ्जनको रूपमा नचाइने गरिएको देखिन्छ । तान्त्रिक पूजाआजा, आवश्यक नियम, शुद्धता र धार्मिक निष्ठा विना लाखेको भेषभूषा र मुखुन्डो मात्र लगाएर व्यापारिक रूपमा नाच्नाले यसको ऐतिहासिक र आध्यात्मिक गम्भीरता घट्दै गइरहेको छ । लाखे जात्रा केवल एउटा काठ वा माटोको डरलाग्दो मुखुन्डो लगाएर सडकमा दौडिने मनोरञ्जनात्मक नृत्य मात्र होइन ।
यो त नेवार जातिको आदिम इतिहास, तान्त्रिक कलाको सर्वोच्च उचाइ, श्रम र श्रमजीवीप्रतिको आदर र अलौकिक रैथाने प्रेमकथाको जीवन्त रङ्गमञ्च हो । यस अमूर्त सम्पदाको तान्त्रिक, धार्मिक र शास्त्रीय मर्यादालाई जोगाउँदै यसको व्यावसायिक दुरुपयोगलाई रोक्नु हामी सबैको साझा कर्तव्य हो । गुठी परम्परालाई राज्यस्तरबाटै नीति र बजेट ल्याएर संरक्षण गर्ने र युवापुस्तालाई यसको ऐतिहासिक एवम् प्रेमिल महत्व हस्तान्तरण गर्ने कार्यमा ध्यान दिनुपर्छ । जबसम्म लाखेको यो अद्वितीय ताल, समर्पण, निश्चल प्रेम र धार्मिक आस्था हाम्रा टोल–टोलमा गुञ्जिरहनेछ, तबसम्म नेपालको मौलिक सांस्कृतिक गौरव पनि विश्वको मानचित्रमा शानका साथ जीवित रहनेछ ।