विराटनगर । सीमाक्षेत्रमा हुने अवैध आयात तथा तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बलले पछिल्लो समय निगरानी र कारबाही तीव्र बनाएको छ । तर, बुधबार विराटनगर महानगरपालिका–१४ जतुवास्थित एक घर तथा गोदाममा ठूलो तयारीका साथ गरिएको छापामार कारबाहीबाट अपेक्षाअनुसार सामान बरामद नभएपछि त्यसले स्थानीय तहमा चर्चा पाएको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल मोरङले विराटनगर–१४ जतुवास्थित सुरेश यादवको घर तथा गोदाममा बुधबार बिहान सबेरै छापा मारेको थियो । ठूलो परिमाणमा तस्करीका सामान लुकाइएका छन् भन्ने सूचनापछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर, खानतलासीका क्रममा केही बोरा तथा झोलामा राखिएका लत्ताकपडा र सीमित परिमाणमा रजनीगन्धा मात्रै फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार बरामद सामानको अनुमानित मूल्य ३ लाख ३८ हजार ४ सय रुपैयाँसम्म छ । “सूचना ठूलो थियो, तर सामान सोचेभन्दा निकै कम भेटियो”–उनले भने ।

प्रहरीले यादवको घरबाट रजनीगन्धा राखिएका चारवटा झोला र झोलामा राखिएको रजनीगन्धा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीका अनुसार सीमाक्षेत्रबाट भन्सार छली गरेर ल्याइएका सामानको सूचना प्राप्त भएपछि कारबाही गरिएको हो । बरामद सामान थप अनुसन्धान तथा मूल्याङ्कनका लागि विराटनगर भन्सार कार्यालय पठाइएको छ ।

यो कारबाहीलाई सशस्त्र प्रहरीको पछिल्लो कडाइको निरन्तरताका रूपमा हेरिएको छ । गत साउन १८ गते पनि सशस्त्र प्रहरीले विराटनगर विमानस्थलबाट काठमाडौँ पठाउन लागिएको ६ बोरा लत्ताकपडा नियन्त्रणमा लिएको थियो । भन्सार जाँचपास नभएको तर बिक्री बिल भएको उक्त सामान बरगाछीका व्यवसायी अमर जलान (बब्लु अग्रवाल) को रहेको खुलेको थियो । सामानसहित एउटा अटोसमेत नियन्त्रणमा लिइएको थियो ।

सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले पछिल्लो समय निगरानी बढाए पनि विगतमा सीमा क्षेत्रमा प्रहरी र तस्करबीच ‘सेटिङ’ हुने गरेको आरोप बारम्बार उठ्दै आएको छ । यही विषयमा अनुसन्धान हुँदा झापा, मोरङ र सुनसरीका सशस्त्र प्रहरीका केही अधिकृत र जवानमाथि कारबाहीसमेत भएको थियो । केहीको सरुवा, केहीलाई जिम्मेवारीबाट हटाउने तथा एक जना हवल्दारलाई निलम्बन गरिएको थियो ।

यस घटनापछि मोरङको खुला सीमामा निगरानी थप कडा बनाइएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । मोरङमा करिब ६३ किलोमिटर खुला सीमा छ । दरैया, मटेर्वा, इस्लामपुर, भेडियारी, भुटाहा, नोचा, डुमरिया, खयरबोना, सिक्टी र चोप्राजस्ता नाकाबाट रातिको समयमा अवैध सामान ओसारपसार हुने गरेको दाबी स्थानीयस्तरमा रहँदै आएको छ ।

भन्सार जाँचपास नभएका केही भारतीय वस्तु अझै पनि स्थानीय बजारमा सहजै उपलब्ध हुने गरेको व्यवसायीहरू बताउँछन् । सशस्त्र प्रहरी भने सूचना पाएपछि भन्सार छली गरी ल्याइएका सामान नियन्त्रणमा लिने अभियानलाई निरन्तरता दिने बताउँछ ।