विजयपुर । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य राजेशकुमार राई (राजेश खिम्दुङ) विरुद्ध यौन शोषण, गालीगलौज, धाकधम्की तथा मानसिक यातना दिएको आरोप लागेको छ ।
आरोप लगाउने धरान–१७ की ३७ वर्षीया शुक्रकुमारी राईले मङ्गलबार इलाका प्रहरी कार्यालय धरानमा आवश्यक छलफल तथा कानूनी कारबाहीको माग गर्दै उजुरी दिएकी छन् । उजुरीमा राईले आफूलाई शारीरिक तथा मानसिक रूपमा यातना दिएको, अपमानजनक शब्द प्रयोग गरेको र पटक–पटक फोन गरेर लेनदेनको विषयमा मानसिक दबाव दिने गरेको आरोप लगाएकी छन् । साथै आफ्नो फेसबुकबाट तस्बिर लिएर सामाजिक सञ्जालमा भाइरल गरिदिने धम्की दिएको पनि उजुरीमा उल्लेख छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार शुक्रकुमारीले छलफल गराइदिन माग गरी उजुरी दिएकी हुन् ।
इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर बबिन राईका अनुसार आरोपित राईलाई छलफलका लागि बोलाइएको छ । उनले भने, “छलफलमा बोलाएको छ । जिल्लातिर छु । भोलि आउँछु भनेको छ ।” प्रहरीका अनुसार उनीहरूको विषयमा यसअघि पनि पटक–पटक छलफल भएको थियो । इन्स्पेक्टर बबिनले प्रारम्भिक रूपमा उनीहरूबीच विगतमा सम्बन्ध रहेको बुझिएको बताए । उनले भने, “जबरजस्ती करणी भन्छन् । पहिले रिलेसनमा थियो भन्ने बुझिन्छ । पहिले पनि पटक–पटक छलफल गराएको रहेछ । सबै कुरा छलफलपछि मात्र थाहा हुन्छ ।”
शुक्रकुमारीले उजुरी दिनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै आफूलाई खिम्दुङले पहिले श्रीमतीका रूपमा राखेको दाबी गरेकी छन् । अहिले भने फोन तथा म्यासेन्जरमा आफूलाई ब्लक गरेको उनको भनाइ छ । उनले आफूलाई राईले ‘खेलौना’ जस्तो व्यवहार गरेको आरोपसमेत लगाएकी छन् । उनले आफूलाई ज्यान मार्ने धम्की दिएको दाबी गर्दै आफ्नो ज्यानमा तलमाथि भए त्यसको जिम्मेवारी खिम्दुङले लिनुपर्ने दाबी गरेकी छन् । श्रम संस्कृति पार्टीका सहप्रवक्ता जीवन विष्टले आरोपित राई पार्टीका केन्द्रीय सदस्य तथा शुक्रकुमारी धरान नगर सहसचिव रहेको पुष्टि गरे ।
विष्टले भने, “अरू विषय थाहा भएन । उक्त विषयमा पार्टीमा छलफल भएको छैन ।” शुक्रकुमारीले पार्टी अध्यक्ष तथा सांसद् हर्कराज राईले आफूहरूको विवादमा समन्वय गरी मिलाउने आश्वासन दिएको दाबीसमेत गरेकी छन् । यद्यपि पछिल्लो समय आफूलाई कसैबाट सहयोग नभएको उनको भनाइ छ ।