धरान/ लागूऔषध कारोबारमा संलग्न तीनजनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
प्रहरीले विशेष सुराकीको आधारमा धरान–२२ का शारद तामाङको घरबाट डाइजेलाव, लुपिजेसिक र एभिल गरी १ सय ५० एम्पुलसहित मङ्गलबार उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा शारद, धरान–१५ का २४ वर्षीय सागर राई र सोही ठाउँका ३३ वर्षीय होमबहादुर विक छन् ।
तामाङ यसअघि पनि लागूऔषध कारोबारमा संलग्न रही दुई वर्ष जेल सजाय भोगेर एक महिनाअघि मात्रै छुटेको इलाका प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले बताए । उनी पटक–पटक लागूऔषधमा पक्राउ परिसकेका छन् । उनीहरुलाई लागूऔषध कारोबार ऐन अन्तर्गत मुद्दा अघि बढाइने डिएसपी खतिवडाले बताए ।
तीनैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ । अञ्चल प्रहरीको विशेष टोली र इप्रकाको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।