पाँचथर / लामाको भेषमा लाखौं रुपैंयाँ ठगि गरी फरार रहेका ठग पक्राउ परेका छन् । पक्राउ पर्नेमा दश माइल रिसि रोड कालेम्पोङ इन्डिया स्थाइ ठेगाना भइ वषौं देखि नेपाल बस्दै आएका ४१ वर्षिय नेन्जी छिरिङ भुटिया रहेका छन् । पक्राउ परेका उनलाई आइतबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निजले फिदिम स्थित होटल सगुनको कोठा नम्बर १०२ मा बसी जेठ ५ गते देखि १७ गते सम्म स्थानीयलाई विभिन्न प्रलोभन देखाएर नगद तथा सुनचाँदी ठगि गरी फरार भएका थिए । आफू अवतारी लामा हुँ भन्ने भुटियाले जागिर नहुनेलाई जागिर दिलाइदिने, निशन्तानलाई सन्तान दिलाइदिने, उनीहरुको भविष्यवाणी गरिदिने जस्ता कार्य गरेर ठगि गरेका थिए । निजले स्थानीयलाई अनेक प्रलोभन देखाइ विस्वाशमा लिएर नगद र सुनचाँदी फिर्ता हुने गरी पूजाको लागि राख्न लगाएको पीडित सरला रेग्मी नेपालले बताइन् । उनले यसरी फिदिमका १० जना स्थानीयको १८ लाख ६० हजार ठगि गरेको प्रहरीले जनाएको छ ।
निज लामा जेठ १७ गते एकाएक होटलबाट गायव भएपछि आफूहरु ठगिएको थाहा भएको पीडित रेन्जी शेर्पाले बताए । त्यसपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए । उनले एउटा व्यक्तिबाट नगद १९ हजार देखि १० तोला सुन सम्म ठगि गरेको बताइएको छ । निजको जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएका प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा तनहुँको बन्दीपुर नगरपालिका–१, भानु डुम्रे बजारबाट पक्राउ गरिएको डिएपसपी कृष्ण प्रसाद कोइरालाले बताए । त्यहाँको एक स्थानीय सुनचाँदी पसलमा आफू बेखर्ची भएको तर आफू सँग सुनचाँदी भएको भन्दै जाकट राख्दा राख्दै निजलाई शुक्रबार पक्राउ गरी पाँचथर ल्याइएको डिएसपी कोइरालाले बताए ।
हाल जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखिएका निजको साथबाट अन्दाजी १६ तोला सुन र ३ तोला चाँदीका गरगहना, नगद १ लाख ५८ हजार ३ सय ५० रुपैंयाँ, ल्यापटप १ थान र क्यामेर १ थान बरामद गरिएको प्रहरी जनाएको छ । निजले यसअघि पनि नुवाकोट र सिन्धुपाल्चोकमा यसरी नै ठगि गरी सिन्धुपाल्चोक कारागारमा ३ वर्षे कैद सजाय भोगिरहेकोमा २०७२ वैशाख १२ को भूकम्पमा कारागार भत्किदा त्यसको फाइदा उठाउँदै भारततर्फ भागेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
अवतारी लामाको भेषमा सर्वसाधरण मानिसलाई ठगि गर्न खप्पिस निज लामा ६ महिना अघि पुनः नेपाल आई उदयपुरको गाइघाट बजारबाट ठगिको नयाँ अध्याय सुरु गरेका थिए । पक्राउ परेका नक्कली अवतारी लामालाई ठगि ऐन अन्तर्गत जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।