dharanधरान / तीनकुनेस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका तीन विद्यार्थीमाथि आक्रमण भएपछि मङ्गलबार सो क्षेत्रमा चार घण्टा तनाव भएको छ । पूmटबलले लागेको भन्दै स्थानीय तीन युवाले बिहान साढे १० बजेतिर विद्यार्थीलाई कुटपिट गरेपछि विद्यार्थीले नाराबाजी गर्दै चार घण्टा यातायात समेत अवरोध गरेका थिए । क्याम्पसमा इलेक्ट्रिकल इन्टरलिग पूmटबल प्रतियोगिता भइरहेको समयमा पूmटबलले लागे भन्दै स्थानीय तीन युवाले विद्यार्थीलाई छुरा देखाउँदै आक्रमण गरेका थिए । इलेक्ट्रिकल सङ्कायमै अध्ययन गर्ने तीन विद्यार्थीमाथि आक्रमण भएको प्रत्यक्षदर्शी विद्यार्थीले बताएका छन् । आक्रमणलगत्तै घटनामा संलग्नलाई पक्राउ गरी कारवाहीको प्रक्रिया अघि बढाउन क्याम्पस प्रशासनलाई दबाव दिँदै विद्यार्थीले क्याम्पस अगाडिको मूल सडकमा पनि अवरोध गरेका थिए । जसका कारण ट्राफिक व्यवस्थापनमा समस्या आउँदा पूर्वपश्चिम तथा दक्षिण तर्पmबाट आउने गाडीहरु सेउतीबाट सिधै पानबारीको बाटो भएर धरान भित्रिएका थिए । ‘खेल सकिएको थियो, त्यो बेला गोल हान्ने क्रममा अडियन्सका रुपमा बसिरहेका ती युवालाई लागेछ । एक्कासी आएर छुरी देखाउँदै आक्रमण गरिहाले’, प्रत्यक्षदर्शी विद्यार्थीले नाम नछाप्ने शर्तमा भने । ती युवाले घाँटीमा छुरी राख्दै तीनजना विद्यार्थीलाई लात्तैलात्तले हानेको उनले बताए । घटनापछि विद्यार्थीले दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रशासनलाई पनि दबाव दिएका थिए । इलाका प्रहरी कार्यालय धरानले आक्रमण गर्ने तीनजनालाई नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–८ का १७ वर्षीय अमन गुरुङ, सोही ठाउँका १८ वर्षीय कुशल दास र सोही ठाउँकै १८ वर्षीय रुक्सङ तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । डिएसपी खतिवडाले क्याम्पसले जाहेरी ल्याएको आधारमा मुद्दा दर्ता हुने बताए । विद्यार्थीले तीनकुनेको चेकपोष्टको बीच सडकमा बसेर नाराबाजी गर्दै यातायात ठप्प पारेका थिए । घटनापछि व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो । अञ्चल प्रहरी, सशस्त्र प्रहरी फुस्रेलगायत इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयबाट पनि प्रहरी परिचालन गरिएको थियो । त्यसपछि प्रहरीकै रोहबरमा कारबाही गर्न पहल गर्ने लगायतका ८ बुँदे सम्झौता भएपछि मात्रै विद्यार्थीले यातायात अवरोध खुल्ला गरेका थिए । क्याम्पसका प्रमुख जितेन्द्र चौधरी, इलाका प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडासहित पुगेर कारबाही गर्ने प्रतिवद्धतासहितको मागपत्र सुनाएका थिए । क्याम्पस हाता मजबुत बनाउनको लागि प्रहरी बिट तथा प्रहरी गस्ती बढाउन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको प्रमुख चौधरीले बताए । यस्तै क्याम्पसको उत्तरतर्पmको पर्खालमा अविलम्ब काँडेतार लगाउने निर्णय भएको छ । यसअघि सोमबार मात्र होस्टेलका विद्यार्थी र अनेरास्ववियु क्याम्पस इकाइ कमिटीले क्याम्पस प्रशासनलाई छुट्टाछुट्टै तरिकाले विभिन्न माग राखेका थिए ।