विजयपुर / ‘मिस पूर्वाञ्चल’ का प्रतियोगीहरुले शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गरेका छन् । उनीहरुलाई उपकूलपति प्रा. डा. बीपी दासले प्रतिष्ठानका विविध पक्षका बारेमा जानकारी दिएका थिए । सहभागीहरुले एशियाकै उत्कृष्ट अस्पतालको रुपमा रहेका प्रतिष्ठानको सेवा–सुविधा तथा अध्ययन/अध्यापनसँगै प्रतिष्ठानले गर्ने अनुसन्धानको बारेमा जानकारी लिएका थिए । सहभागीहरुको जिज्ञासा मेट्दै उपकूलपति दासले नेपालमा हुने मेडिकल सम्बन्धी खोज–अनुसन्धान ३८ प्रतिशत प्रतिष्ठानले गर्ने गरेको जानकारी गराएका थिए । प्रतिष्ठानमा बिरामीको चाप अत्याधिक रहेको बताउँदै दासले बिरामीको चाप बढेपनि आपूmहरुले दिने सेवा–सुविधामा कुनै कमी हुन नदिएको बताए । दासले प्रतिष्ठानले सुपरस्पेस्यालिटी सेवा सुचारु गरेको जानकारी समेत गराएका थिए । प्रतिष्ठानले बिरामीको चापलाई मध्यनजर गर्दै कार्डियो सेन्टर, क्यान्सर सेन्टर तथा मातृशिशु स्वास्थ्य स्यहार केन्द्र निर्माण शुरु गरिएको बताउँदै उनले द्वन्द्वपीडित घाइतेहरुका लागि नेपालमै पहिलोपटक पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको जानकारी दिए । यसैबीच प्रतियोगीहरुलाई बिहीबार नेपाली काङ्ग्रेसकी नेतृ सुजता कोइरालाले पनि हौसला प्रदान गरेकी थिइन् । उनले महिलाहरुले केही गर्न सक्छन् भनेर देखाउन अब युवतीहरु लागिपर्नुपर्ने बताइन् ।