धरान/सुनसरी जिल्लाको धरानस्थित पिण्डेश्वरधाममा विश्वकै अग्लो त्रिशूल निर्माण हुने भएको छ । विश्व हिन्दू परिषद् नेपालले पिण्डेश्वरमा अष्ठदशा महापुराण ज्ञान महायज्ञ लगाउने र महायज्ञमा सङ्कलन भएको रकममा केही रकम थप गरी धाम परिसरमा अष्ठधातुद्वारा तयार गरिएको १५० फिट अग्लो त्रिशूल निर्माण गर्न लागिएको होे ।

ttt

परिषद्ले बिहीबार ताप्लेजुङमा पत्रकारसम्मेलन गरेर प्रसिद्ध धाम पिण्डेश्वरमा अष्ठ धातुले निर्माण गरिने १५० फिट उचाइको महारुद्र त्रिशूल स्थापना गर्ने जानकारी दिएको हो । महायज्ञ आगामी फागुन २१ गतेदेखि सुरु गरिने भएको छ । त्रिशूल निर्माण समितिका अध्यक्ष देवराज अधिकारीले रु पाँच करोड ३० लाख अनुमानित लागतमा एक वर्ष लगाएर निर्माण गरिने सो त्रिशूल ६० फिट जमिनमुनि र ९० फिट जमिनमाथि हुने जानकारी दिनुभयो । पुराणबाट सङ्कलित रकमले मात्र नपुग्ने भएकाले त्रिशूलका लागि आवश्यक अष्ठ धातु मानिसले घरमा राखेको तामा पित्तल लगायतलाई सहयोगका रुपमा सङ्कलन गरेर पूरा गरिने जानकारी दिनुभयो ।सो यज्ञमा १४ अञ्चलका १८ प्रसिद्ध पण्डितले पुराण वाचन गर्ने छन् भने सबै पण्डितले एकएक पुराणको सार लेखिएको पुस्तकसमेत छापिने बताइएको छ जसमा २१ हजार १११ रुपैयाँ तिरेर सङ्कल्प गराइने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । सो पुराण समापन गर्न र त्रिशूल निर्माणका लागि देशका सबै धर्मानुरागीको साथ आवश्यक रहेकाले ताप्लेजुङमा समेत महायज्ञ साथै त्रिशूल निर्माणका सम्बन्धमा प्रचारका लागि आइपुगेको अधिकारीले जानकारी दिनुभएको छ । रासस