पाँचथर/ सिसेक्पा तङनाम (साउँने सक्रान्ति) पर्व शनिबार पाँचथरमा विविध कार्यक्रम गरी मनाइएको छ ।तङनामको अवशरमा किरात याक्थुङ चुम्लुङ पाँचथरले फिदिमस्थित चुम्लुङहीममा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा चुम्लुङका केन्द्रीय सचिव निरन्ति तुम्बापो, प्रमुख जिल्ला अधिकारी किरण थापा, स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला, याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जवेगु, भाषावीद हरि चन्द्र लावती र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरका अध्यक्ष बीर्ख बहादुर वाइबा लगायतले सिसेक्पा तङ्नामको शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल विविधताले युक्त देश भएकाले एकले अर्काको संस्कृतिलाई सम्मान गर्दै आपसी सद्भाव र सहिष्णुताको भावनालाई अझ बलियो बनाउँदै जानुपर्ने विचार राखेका थिए । औपचारिक कार्यक्रम समाप्ती पछि परम्परागत कार्यविधिकासाथ चुम्लुङहीमबाट साक्नाप्मा अर्थात् अनिकाल खेदाउँदै गणतन्त्र चोकमा पुगेर कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रम चुम्लुङ पाँचथरका अध्यक्ष नरेन्द्रराज केरुङको अध्यक्षतामा सम्पन्न भएको सचिव सुरेन शिशिर केरुङले बताउँनुभयो ।
पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायले अनिकाललाई धपाउँने र सहकाललाई स्वागत गर्ने पर्वको रुपमा सिसेक्पा तङ्नामलाई मनाउँने गर्दछन् । सिसेक्पा तङनामको दिन बिहान उठेर तागेरा निङ्वाफुमाङको पूजा अर्चना गरी साँझमा नाङ्लो ठठाउँदै र बन्दुक पड्काउँदै अनिकाल खेदाउँने प्रचलन रहेको याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जवेगुले बताए ।
यो दिन हरियो बाबियोको डोरी बाटि त्यसमा नयाँ उत्पादन भएका अन्न र फलफुल राखि घरको दैलोमा झुन्ड्याउँने गरिन्छ । जसलाई साक्च्योङ भनिन्छ । याक्थुङ पात्रो अनुसार असार ३० गते नै सिसेक्पा तङनाम परे पनि नेपाली पात्रो अनुसार शनिबार पर्व मनाइएको तङ्नाम (पर्व) कार्यविधि निर्माण समितिका संयोजक हरि चन्द्र लावतीले बताए ।