Untitled-4 copyसंखुवासभा / अन्धकारमा बस्दै आएका वाला,सिसुवा,ताम्कु र मांतेवा गाविसवासी आफ्नै मेहनत र परिश्रमले विद्युत उत्पादन गरी उज्यालोमा बस्न थालेका छन् । संखुवा र सिसुवा खोलाबाट श्रमदानबाटै पाँच स्थानबाट एक सय ९७ किलोवाट विद्युत निकाली गाउँनै उज्यालो बनाएका छन् । यहाँका दुई हजार बढी परिवारले विद्युत उपभोग गरेका छन् । दुर्गम छ गाविस र झ्न बिकट क्षेत्रमा पर्छ गाउँहरु । केही समय अघि सम्म अम्फी र राँको पालेर जीविका चलाउने यस क्षेत्रका बासीन्दा अहिले उज्यालोमा बस्न थाले पछि जीवननै परिर्वतन गरेको महसुस गरेका बताउछन । संखुवाखोलाबाट १७ किलोवाट क्षमताको विद्युत उत्पादन भएको छ । हिमालय नेचुरल फाइभर फाउण्डेशन(एचएनएफएफ, बैकल्पीक उर्जा केन्द्र र गाविसको लगानी र शतप्रतिशत जनश्रमदान गरी विद्युत उत्पादन गरेको ताम्कुका चन्द्र राईले बताए । उत्पादित विद्युतले ताम्कु १,४,५ र ७ वडाका गाउँमा   २४ सै घण्टा उज्यालो बनाएको छ । यता जिल्ला बिकास समितिको १० लाख, हिमालय नेचुरल फाइभर फाउण्डेशन(एचएनएफएफ)को १२ लाख, गाविसको १३ लाख ५० हजार र स्थानीयबासीको ४० लाख बढी लगानीमा सोही खोलाबाट ३१ किलोवाट विद्युत उत्पादनको अन्तिम चरणमा पुगेको छ । उत्पादित विद्युतले ताम्कु– १,२,३,४ र ८ वडा पुरै उज्यालो बन्ने छ । बिकट भएकाले सामाग्री ढुवाँनीमा समस्या छ । हेलुवाबेसी देखि सिसुवाखोला सम्म सामाग्री ढुँवानी गर्दा प्रतिकिलोग्राम ३० देखि ७५ रुपैयाँ सम्म तिर्नु पर्ने हुन्छ । साँघुरो गोरेटो अनी ठुला र गह्रौ समान ढुवाँनी गर्न समस्या भएकाले ढुवाँनीमै बढी खर्च लाग्ने गरेको ताम्कुका कैलास राईले बताए । केन्द्रीय प्रसारण लाइनले यस क्षेत्रलाई छुन अझै पनि असम्भवनै भए पछि हामीले बिकल्प रोजेको उनले बताए । राईले भने, गरे के असम्भव ? मट्टीतेल किन्ने खर्च बचत भयो वालवालिकालाई पढ्न देखि खाना पकाउन समेत सहज भएको छ । ताम्कु–७ र वाला बिचमा रहेको  संखुवाखोला ३० किलोवाट विद्युत उत्पादन तयारीमा छ । गाविसको १३ लाख, हिमालय नेचुरल फाइभर फाउण्डेशन(एचएनएफएफ) को २५ लाख, र स्थानीयको श्रमदान सहित ४० लाख लगानीमा संखुवाखोलाबाट ३० किलोवाट उत्पादन अन्तिम भएको छ । विद्युत उत्पादन मात्र भन्दा पनि बिस्तार गर्न २० किलोमीटर बढी तार तानेर भए पनि वाला,सिसुवा ताम्कुबासीले  उज्यालो बालेका छन् । बैकल्पीक उर्जा ,इको हिमाल, गाविस र शतप्रतिशत श्रमदान लगानीमा सिसुवाखोलाबाट अर्को ६१ किलोवाट विद्युत उत्पादन भएको छ । वाला–१,७ र सिसुवाखोला–१,२,३,४ ताम्कु–१,२,३ वडाले यो विद्युत प्रयोग गरी डेड बर्ष देखि उज्यालो लिदै आएका छन् । यता सिसुवाखोलाबाट ५८ किलोवाट विद्युत निर्माण तिब्र छ । सिसुवाखोला–५ चटेक्मामा पावरहाउस राखेर उत्पादन गरिने बिद्युतले सिसुवाखोला– १ र २ वडा बाहेक सबै वडामा विद्युत पुग्ने छ । बैकल्पीक उर्जा प्रतिकिलोवाट दुई लाख ५० हजारका दरले एक करोड ४५ लाख, हिमालय नेचुरल फाइभर फाउण्डेशन(एचएनएफएफ) ले पाँच लाख, गाविस तीन लाख, जिल्ला बिकास समितिको पाँच लाख र श्रमदान ५५ लाख गरी दुई करोड लगानीमा विद्युत उत्पादन शुरु गरिएको सिसुवाखोला गाविसका सचिव गोपिसम्सेर राईले बताए । उज्यालोमा बस्ने भन्दै विद्युत निकाल्न गाउँलेको उत्साह बढी भएकाले गाविसले पनि दातासँग सहयोग खोज्न पहल गरेको ताम्कुका गाविस सचिव नेत्रबहादुर श्रेष्ठले बताए । शत प्रतिशत श्रमदान गर्न गाउँलेहरु मासिक तालिकानै बनाएर दुई महिनासम्म प्रत्येक परिवारले श्रमदान गर्ने गरेको सचिव श्रेष्ठले बताउछन । सुगममा २० प्रतिशत पनि श्रमदान गर्न नमान्नेका लागि यस क्षेत्रका स्थानीय उदाहारण बन्दै शतप्रतिशत श्रमदान गरेर हाइड्रोपावरबाट विद्युत उत्पादन गरेका छन् । हामीले हाम्रै पहलमा खेर गएको पानीलाई भरपुर प्रयोग गरेका छौ, उत्पादीत विद्युतबाट कुटानी पिसानी देखि कम्प्युटर,प्रिष्टर,फोटोकपी समेत गाउँमै चलाएर सदरमुकाम आउनै पर्ने हैरानी बाट मुक्त भएको ताम्कुका शिक्षक बुद्धि कुलुङले बताए । केन्द्रीय लाइन बिनानै चार गाविसका प्रत्येक परिवारले विद्युत उपभोग गर्न पाउने भए पछि गाविसले यस क्षेत्रलाई पेल्ट्रीकसेटको गाउँ घोषणा गर्ने तयारी गरेको छ ।