सुनसरी / पूर्वी क्षेत्रमा एक हप्तादेखि जारी रहेको अविरल वर्षाका कारण मङ्गलबार सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको बहाव मापन गरिएको छ ।
कोशी ब्यारेजमा मङ्गलबार मध्याह्न सवा १२ मा गरिएको पानीको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख ८५ हजार २२३ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको कोशी ब्यारेज कन्ट्रोल रुमका भारतीय अधिकारीले जनाएका छन् । कोशीमा अहिले ३५ वटा ढोका खोलिएका छन् । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा हुँदा सप्तकोशी नदीकोे बहावमा वृद्धि हुने गर्दछ ।
उता लगातारको वर्षाका कारण सुनसरी खोलामा आएको बाढीले सुनसरीका दक्षिणवर्ती अधिकांश गाविस डुबानमा परेका छन् । इनरुवा नगरपालिकाको ५ नम्बर वडाका २५ घर डुबानमा परेका छन् । बाढीको फरक प्रसङ्गमा सुनसरीको दुईवटा पुल बगाउने खतरा बढेको छ ।
जिल्लाको रामनगरभुटाहा र हरिनगराको पुल तीन दिनअगाडि बाढीले बगाएको छ भने सुनसरी खोलाको बाढीले डुम्राहा र भोक्राहा जोड्ने झोलुङ्गे पुल बगाउने खतरा रहेको सुनसरी प्रहरीले जनाएको छ । डुम्राहा र भोक्राहाको पुललाई जोगाउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले प्रयास गरिरहेको सुनसरीका एसपी पोषराज पोखरेलले जानकारी दिए । ढुङ्गा, तारजाली र बोरामा माटो हालेर जोखिम कम गर्ने प्रयास गरिरहेको उनले बताए ।
सप्तकोशी नदीको स्परहरु संरक्षण गर्नसमेत भारतीय प्राविधिक तथा कामदारले दुई दिनदेखि लगातार रुपमा काम गरिरहेको बताइएको छ । प्रकाशपुर र महेन्द्रनगर क्षेत्रमा काम निरन्तररुपमा जारी रहेको उनीहरुलाई उद्धृत गर्दै स्थानीय पत्रकार बाबुराम कार्कीले जानकारी दिए । कोशीमा पानी बढेसँगै भारतको वीरपुर, भीमनगर, बसन्पट्टी लगायतका ठाउँ समेत जलमग्न भएका छन् ।