इलाम/ इलामको महेन्द्र रत्न वहुमुखी क्याम्पसमा जारी बास्केटवल प्रशिक्षण अन्तर्गत शुक्रबारदेखि विद्यालयस्तरीय प्रशिक्षण शुरु गरिएको छ ।जिल्ला बास्केटवल इलामले आयोजना गरेको प्रशिक्षणमा सदरमुकामका पाँच विद्यालयका विद्यार्थी सहभागी भएका छन् । असार १० गतेदेखि शुरु भएको बास्केटवल प्रशिक्षणमा विहीबार एक सय भन्दा बढी विद्यार्थी सहभागी बनेका छन् । बास्केटवलको राष्ट्रिय प्रतियोगितामा इलामबाट समेत खेलाडी छनौट गर्ने उद्देश्यका साथ प्रशिक्षण आयोजना गरिएको बास्केटवल संघका संयोजक रोहन आचार्यले बताए । ilam खेलकुद पर्यटनबाट समेत चिनिएको इलाममा युवाहरुप्रति बास्केटवलको ज्ञान–सीप दिलाउने उद्देशयले प्रशिक्षण आयोजना गरिएको जनाइएको छ । विगत फुटवल र भलिवललगायतका प्रतियोगिताहरुमा मात्र रम्ने इलामे युवाहरुमा पछिल्लो समय बास्केटवलप्रति समेत चासो र रुची देखिन थालेकाले उनीहरुको प्रतिभा प्रस्फुटनका लागि प्रशिक्षण आयोजना गरिएको हो । सुनसरी बास्केटवल संघका विकास चाम्लिङ्ग राईले सहभागीहरुलाई बास्केटवलका नियम र खेल कौशलका बारेमा जानकारी दिइरहेका छन् । बालबालिका तथा युवाहरुलाई खेलकुद क्षेत्रमा चासो जगाउन मात्रै सके पनि अन्य बिना उपलब्धीका काम र कुलतबाट समेत बचाउन सकिने देखिएकाले प्रशिक्षणको माध्यबाट यस क्षेत्रमा चासो बढाउने उद्देश्य आयोजक संस्थाका सहयोगी गणेश खतिवडा बताउँछन् । आयोजक अध्यक्ष रोहन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य प्रशिक्षक विकास चाम्लिङ्गले बोलेका थिए ।