विजयपुर/सरकारी पदको दुरुपयोग गर्दै अवैध काम गर्ने भरौल स्वास्थ्य चौकीका प्रमुख उमेशप्रसाद मेहताले आफुले जस्तै काम गर्ने अरुलाई पनि कारवाही गरेर देखाउन चुनौती दिएका छन् ।
उनले आफुलाई व्यक्तिगत रिसइबीका कारण फसाउन खोजिएको भन्दै ‘अरुलाई पनि कारबाही गरेर देखाउन’ चुनौती दिएका हुन् । उनले आफुले अवैध काम गरेको स्वीकार पनि गरेका छन् । आफुले गल्ती गरेको स्वीकार गर्दै उनले स्वास्थ्य चौकीमा आउँदा आफुलाई खबर गरेर मात्र अनुगमनमा आउनु पर्ने भन्दै ब्लाष्टका स्थानीय प्रतिनिधिलाई अनुचित प्रश्न गरेका थिए । स्वास्थ्य चौकी प्रमुख मेहेताले स्वास्थ्य चौकी परिसरको २० मिटरको दूरीमै अवैधरुपमा ‘वराह उपचार तथा ल्याब क्लिनिक’ सञ्चालन गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले अवैध मेडिकल बन्द गराएको छ ।
स्वास्थ्य चौकी प्रमुख मेहेतालाई सोमबार प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो । उनलाई प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंको निर्देशनमा महेन्द्रनगर इलाका प्रहरी कार्यालय चक्रघट्टीले सोमबार बिहान पक्राउ गरेको थियो ।
मेहेतालाई त्यस क्षेत्रबाटै सरुवा गर्न स्थानीयहरुले माग गरेका छन् । समाचार सार्वजनिक भएपछि वैदेशिक रोजगारमा रहेका स्थानीय मनिष चौधरीले ब्लाष्टलाई इमेल गरेर सरकारी नीति–नियम र अख्तियारीको दुरुपयोग गर्ने भ्रष्ट व्यक्तिलाई कडा सजाय दिनुपर्ने, सरुवा गर्नुपर्ने माग गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख डिल्लीरमण अधिकारीले स्वास्थ्य चौकी प्रमुख मेहेतालाई समाचार प्रकाशन भएकै दिन सोमबार लिखित स्पष्टीकरण सोधिएको जानकारी जानकारी दिए । स्पष्टीकरण आएपछि कारवाही प्रक्रिया शुरु हुने अधिकारीले ब्लाष्टलाई बताए ।
भरौल गाविस सचिवले पनि मेहेतालाई मङ्गलबार ‘सच्चिएर काम गर्न’ निर्देशन दिएका छन् ।
भरौल स्वास्थ्य चौकीका प्रमुख उमेशप्रसाद मेहेताले अवैधरुपमा मेडिकल सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरिरहेको समाचार ब्लाष्टले सोमबारको अङ्कमा सार्वजनिक गरेको थियो । समाचार सार्वजनिक हुनासाथ सोमबार बिहानै प्रहरीले मेहेतालाई पक्राउ गरेको थियो । सुनसरीका प्रजिअ चापागाईले अवैधरुपमा सञ्चालित मेडिकल बन्द गराएर अनुसन्धान शुरु गरेको जानकारी दिएका छन् । सुनसरी प्रशासनले मङ्गलबार मेहेतासँग बयान लिएको छ । प्रजिअ चापागाईंले स्वास्थ्य चौकी प्रमुखमाथि अनुसन्धान शुरु भइसकेको जानकारी दिए । निजामति तथा स्वास्थ्य ऐनअनुसार अनुसन्धान शुरु गरिएको जनाउँदै चापागाईले भने, ‘सरकारी पद र नीति–नियमको उल्लङ्घन गर्नेलाई कारबाही हुन्छ ।’
मेहेताले स्वास्थ्य चौकीबाट २० मिटरकै दूरीमा अवैधरुपमा मेडिकल सञ्चालन गरेका थिए । मेहेताको कर्तुतका बारेमा स्थानीयले गुनासो गरेपछि ब्लाष्टले खोजी शुरु गरेको थियो । मेहेताले सरकारी नीति तथा अख्तियारीको समेत दुरुपयोग गरेको स्थानीयको गुनासो आएको थियो ।