इनरुवा/जग्गा कित्ताकाट गर्ने नापी कार्यालय इनरुवामा घुसबेगर कामै नहुने जग्गा व्यवसायीहरु बताउँछन् । कुनैपनि जग्गाको कित्ताकाटमा ७ हजारदेखि १० हजार रुपैयाँसम्म नबुझाए कामै नहुने भुक्तभोगीहरुको भनाइ छ । खुल्लमखुल्ला पैसा लाग्छ भन्दै रकम माग्ने गरेको उनीहरु बताउँछन् ।

नापी कार्यालय इनरुवामा २०६० सालमा आगो लागेर धेरै कागजपत्र जलेर नष्ट भएसँगै केही नक्साको रेखाङ्कन र रेकर्ड फाइलमा कित्ता नम्बर मेटिएर चिन्नै नसक्ने अवस्था छ । तिनै जग्गाको नक्सा कर्मचारीहरुको कमाइ खाने भाँडो बनेको छ । नक्साको प्रतिलिपीका लागि उनीहरु घुस नलिइ कामै गर्दैनन् । व्यवसायीले जग्गा कित्ताकाट गर्दा अनिवार्य घुस दिनैपर्ने बाध्यता रहेको जग्गा व्यवसायीहरु गुनासो गर्छन् । सुनसरी तरहराका एक जग्गा व्यापारीले नाम नखुलाउने शर्तमा भने, ‘त्यहाँका अमिन तरहराकै हुन्, तर पनि घुस नदिइ काम बन्दैन ।’ नापी कार्यालयले जग्गाको चार किल्ला प्रमाणित तथा कित्ताकाटमा खुलेआम रकम असुलीरहेको सर्वसाधारणको भनाइ पाइन्छ । बैङ्क तथा वित्तीय संस्थाले मागेको चारकिल्ला प्रमाणितमा अमिनले स्थलगत अनुगमन नगरी ५ देखि ७ हजार रुपैयाँ लिएर कागज प्रमाणित गरी पठाउने गरेको सर्वसाधारणले आरोप लगाएका छन् । रामधुनी भासीका जय कटुवालले चार किल्ला प्रमाणितमा आप्mनो ५ हजार रुपैयाँ लागेको बताए । बैङ्कबाट लोन लिनको लागि आपूmले लिएको चार किल्लामा स्थलगत अनुगमननै नगरी रकम लगेको उनको भनाइ थियो । यता नापी कार्यालय प्रमुख शशीकान्त झाले जग्गा कित्ताकाटमा पैसा नलाग्ने बताए । उनले भने, ‘जग्गाको कित्ताकाट गर्न पैसा लाग्दैन ।’ तर उनकै निर्देशनमा आर्थिक चलखेल हुने गरेको सर्वसाधारण तथा व्यापारीहरुले आरोप लगाउँदै आएका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयको टोलीले समेत जग्गा कित्ताकाट तथा मूल्याङ्कनमा आर्थिक चलखेल गरेको भन्दै स्थलगत अनुगमन गरेको थियो ।