नेपालगन्ज / दाइजो नल्याएको भन्दै कुटपिट गर्ने नेपालगन्ज उपमहानगरपालिका–१९ बालेगाउँका वसिम जोलाहा र वसिमकी आमा बाबादैया जोलाहालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । दुई वर्षअघि मागी विवाह गरेका नेपालगन्ज–१९ बालेगाउँका आस्रुन जोलाहाका २४ वर्षीय श्रीमान् वसिम जोलाहा र उनकी आमा बाबादैया जोलाहालाई मंगलबार कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।
कुटपिटमा संलग्न ससुरा सब्बिर जोलाहा र काका नसिम जोलाहा फरार छन् । कुटपिटबाट घाइते भएकी आस्रुनले श्रीमान्, सासू, ससुरा र श्रीमान्का भाइ पर्ने नसिम जोलाहाले कुटपिट गरेको प्रहरीसमक्ष दिएको बयानका आधारमा प्रहरीले वसिम र बाबादैयालाई पक्राउ गरेको हो । कुटपिटबाट उनका दुवै आँखामा गहिरो चोट लागेको छ । गत २३ साउनमा कुटपिटबाट गम्भीर घाइते भएकी आस्रुनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
दाइजो नल्याएको भन्दै उनका श्रीमान्, सासू, सुसुराले पटक–पटक कुटपिट गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरूले आस्रुनको परिवारसँग पटक–पटक लाखौँ रकम माग्दै आएको र दाइजो नल्याए अरू व्यक्तिसँग विवाह गराइदिने धम्की दिँदै कुटपिट गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रमुख राईले बताए ।
०७१ सालमा आस्रुनको मागी विवाह भएको थियो । काका ससुरा नसिमले नै वसिम अन्सारीका लागि केटी मागिदिएका थिए । अहिले तिनै नसिमले सासू, ससुरा र श्रीमान्लाई उक्साएर कुटपिट गरेको पीडित आस्रुनले प्रहरीसमक्ष बयान दिएकी छिन् । विगत चार महिनादेखि कुटपिट गरिरहेको उजुरीमा उल्लेख छ ।
२० साउनमा पनि आस्रुनलाई उनका परिवारले कुटपिट गरेका थिए । कुटपिट गरेपछि उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा उनका श्रीमान्ले अबदेखि कुटपिट नगर्ने प्रतिबद्धता जनाउँदै माफी मागेका थिए ।
मिलापत्र भएकै दिन श्रीमान्ले ज्यान लिने उद्देश्यका साथ मोटरसाइकलले खुट्टामा ठक्कर दिएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । ‘पटक–पटक कुटपिट गरी सख्त घाइते बनाएको भन्दै आस्रुनका परिवारले कुटपिट गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका छन्,’ प्रहरी प्रमुख राईले भने । (नया पत्रिकाबाट)