धरान / इलाका प्रहरी कार्यालय धरानले शनिबार ३९ केजी गाँजासहित पाँच युवतीहरुलाई पक्राउ गरेको छ । धनकुटाको छिन्ताङबाट विष्णुपादुका हुदै धरान ल्याउदै गरेको गाँजासहित उनीहरुलाई शनिवार दिउसो पक्राउ गरिएको हो ।
धरान–२६ विष्णुपादुकाको मानेभञ्ज्याङ चोकबाट शङ्कास्पद रुपमा झोला बोकेर गाडी चढ्ने क्रममा विष्णुपादुका अस्थायी प्रहरी पोष्टको टोलीले जाँच गर्ने क्रममा युवतीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भोजपुर हसनपुर–२ की ३५ वर्षीया राजकुमारी राई, हसनपुर–२ की ३५ वर्षीया दिलकुमारी राई, धनकुटा छिन्ताङ–८ की १७ वर्षीया सुनीता राई, धनकुटा छिन्ताङ–८ की ४५ वर्षीया आशा राई, धनकुटा छिन्ताङ–८ की ५२ वर्षीया श्यामकुमारी राईलाई पक्राउ गरिएको धरान इलाका प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
नयाँ रुटबाट धरानमा गाँजा आयत हुदै गरेको प्रहरीले सुराकी पाए पछि उक्त क्षेत्रमा प्रहरी परिचालन गरेको थियो ।
यसैगरी तीनकुने अस्थायी प्रहरी पोष्टले जाँच गर्ने क्रममा धरान–१६ का २० वर्षीय राज गुरुङ र धरान–१३ बस्ने १६ वर्षीय रुम्बा तामाङलाई लागूऔषध एभिल ३६ एम्पुल, लुपीजेसिक ३६ एम्पुल र डाईजोल्याप ३६ एम्पुलसहित पक्राउ गरिएको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनीहरुको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।