शनिश्चरे/मोरङको पथरीशनिश्चरे १ मा अवस्थित सुनाखरी माविको कम्प्युटर शिक्षाको अक्षयकोषमा रकम जम्मा गर्ने कोषदाता ३० जनालाई शुक्रबार सम्मानित गरिएको छ ।
सम्मानित हुनेहरुमा पथरी घर भई मकाउमा रोजगारी गर्दै आएका प्रदिपकुमार राई, स्थानीय टेकबहादुर राई सहित रहेका छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर २ का सांसद तथा सो विद्यालयका संस्थापक मध्येका चण्डीप्रसाद राईले अक्षयकोषदातालाई सम्मान प्रदान गरेका छन् । सम्मानपत्र, टोपी सहितले सम्मानित गरिएको हो ।
अक्षयकोषदातामध्येका प्रदिपले २ वर्षअघि १ लाख १ हजार १ सय ११ रुपैयाँ जम्मा गरेर अक्षयकोषका लागि सवैभन्दा बढी रकम प्रदान गर्दै सुरुका दाता समेत बनेका छन् । ४ वर्ष अघि उनले विद्यालयका लागि ५ थान कम्प्युटर प्रदान गरेका थिए । अक्षयकोषका रुपमा हालसम्म ८ लाख ३५ हजार र त्यसको व्याज ९० हजार जम्मा भएको प्रधानाध्यापक केशवप्रसाद शर्माले उल्लेख गरे । उनले देश विदेशमा रहेकाहरुले ठूलो सहयोग पुर्याएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि सांसद राई, विद्यालय अभिभावक संघका अध्यक्ष कुमार चाम्लिङ, अक्षयकोषदाता प्रदिप राई लगायतले शैक्षिक क्षेत्रको विकासमा स्थानीयको सहयोग र सहकार्य सधैं आवश्यक रहने चर्चा गरे ।०४९ सालमा स्थापना भएको सो विद्यालयले सहयोग स्वरुप कम्प्युटर प्रदान भएपछि कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि कम्प्युटर शिक्षा प्रदान गर्दै आएको छ । हाल विद्यालयमा १७ वटा कम्प्युटर जम्मा भएको छ । कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्ययमा पठन पाठन समेत गर्दै आएको छ ।